एमसीसीमा कुरा मिलेन भने गठबन्धन टुट्छ : महामन्त्री थापा

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अमेरिकी सहयोग परियोजना मिलेनिय च्यालेन्ज कर्पाेरेशन (एमसीसी) मा कुरा नमिले गठबन्धनसँगको सम्बन्ध टुट्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा गठबन्धनबाटै संसद्मा एमसीसी टेबुल गर्न नदिइएमा सम्बन्ध तोडिने बताएका हुन् ।

उनले भने, ‘हाम्रोबीचमा कुरा मिल्यो, गठबन्धन चलिराख्छ । हाम्रो बीचमा कुरा मिलेन, यो गठबन्धन चल्दैन । कुराकानी पनि नमिल्ने, गठबनधन पनि चलिराख्ने भन्ने हुँदैन ।’

गठबन्धनका दल नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादील)ले भने एमसीसीलाई चुनावपछि बहस गर्ने भन्ने विषयमा पनि महामन्त्री थापाले बोलेका छन् । उनले भने, ‘यो अहिले राष्ट्रघाति हो भने चुनावपछि पनि राष्ट्रघाति हुन्छ ।’

महामन्त्री थापाले संसदसँग एमसीसी पारित गर्ने वा फेल गर्ने भन्ने अधिकार रहेको भन्दै संसदबाटै यसको निकास खोज्नुपर्ने बताए ।

उनले भने, ‘एमसीसी संसदमा टेबुल गरौं । बुँदा बुँदामा छलफल गरौं । दुधको दुध पानीको पानी हुनेगरी बहस गरौं । एमालेले संसद रोक्नुको अर्को कारण छ । उसले पनि एमसीसीका सन्दर्भमा आफ्नो धारणा देओस् । जे गर्ने हो संसदबाटै गरौं ।’

अहिलेको परिस्थिति हेर्दा एमसीसीको सबै भार कांग्रेसलाई बोकाइएको पनि महामन्त्री थापाको आरोप छ । ‘एमसीसीको विषयमा कांग्रेससँग सफा व्यवहार भएन । एमसीसीको भारी कांग्रेसलाई बोकाउने प्रयास गठबन्धनभित्रै भएको छ,’ उनले भने, ‘एमसीसी संसदमा टेबलसम्म गर्न नदिने हो भने सहकार्यको औचित्य सकिन्छ । हामीलाई छलछाम गरौंला भन्ने कुरा गठबन्धनको पार्टी वा प्रतिपक्षले पनि नसोचे हुन्छ । अब एमसीसीको मुद्दाको छिनोफानो नगरी कांग्रेस बस्दैन ।’

ताजा समाचार

लोकप्रिय