
कोरोना भाइरस समुदाय स्तरमा नै व्यापक रुपमा फैलिसकेको यो भयावह अबस्थामा भण्डारा बजार युवा समाजले राप्ती ०५ भण्डारा चोकमा आजबाट Hand Sanitizing Zone सहितको निःशुल्क माक्स बैंक सञ्चालनमा ल्याएको छ।
झाडापखला, हैजा, मलेरिया, एच.आई.भि. जस्ता महामारीमा रोगको प्रकृति अनुसारका अत्यावश्यकिय सामाग्रीहरु सरकारद्धारा नै निःशुल्क गराईएको थियो यस कोरोना भाईरसको महामारीमा पनि देशै भर माक्स र सेनिटाईजर निःशुल्क गरिनु पर्ने थियो तर देशको वर्तमान आर्थिक अवस्था र विभिन्न अन्य समस्याहरुको कारण त्यो हुन सकेन ।
हरेक गाऊँ–गाऊँ र घर–घरमा निःशुल्क माक्स र सेनिटाईजर वितरण गर्न नसके पनि मानिसको भिडभाड बढी हुने कुनै निश्चित क्षेत्रमा भने त्यो काम गर्न सकिन्छ भन्ने बुझाईका साथ Hand Sanitizing Zone सहितको निःशुल्क माक्स बैंक स्थापना गरेको कुरा युवा समाजका अध्यक्ष नविन दराईले जानकारी गराउनु भयो।
न्यूनतम एक महिनासम्म उक्त कार्यक्रम सञ्चालनमा ल्याउने उद्देश्य रहेको उक्त कार्यक्रमको उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा राप्ती नगरपालिकाको उप–प्रमुख ईमानसिंह लामा ज्यू उपस्थित हुनुहुन्थ्यो भने विशिष्ट अतिथिको रुपमा ईलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख राजिव गिरी ज्यूको उपस्थिति थियो ।
त्यस्तै गरि अतिथिहरुमा राप्ती वडा नं. ४ का वडा अध्यक्ष शमशेर लामा ज्यू, राप्ती न.पा. वडा नं. ५ का वडा अध्यक्ष मेनुका पाठक ज्यू, राप्ती न.पा. वडा नं. ५ का वडा अध्यक्ष जल्लु चौधरी ज्यू साथै विभिन्न संघसंस्थाको अध्यक्ष एवम् प्रतिनिधि ज्यूहरुको उपस्थिति थियो ।
“युवा वर्ग यसरी सामाजिक कार्यमा सक्रिय हुनु अत्यन्तै राम्रो कुरा हो । यस युवा समाजले आगामी दिनहरुमा गर्ने अन्य कार्यहरुमा पनि मेरो पूर्ण साथ र समर्थन रहन्छ ।” प्रमुख अतिथि ईमानसिंह लामाले भन्नुभयो।
निःशुल्क माक्स बैंकबाट आज पहिलो दिनमा नै दुई हजार भन्दा बढी सर्वसाधरणले सेवा लिनु भएको कुरा भण्डारा बजार युवा समाजका सचिव हरि सिलवालले जानकारी गराउनु भयो ।