राप्ती नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । बिहिबार भण्डारामा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीसहित सरोकारवालाहरुको प्रतिनिधिमुलक सहभागितामा सार्वजनिक सुनुवाई आयोजना गरिएको हो ।

कार्यक्रममा नगरपालिका क्षेत्रमा अव्यवस्थित फोहर तथा अस्तव्यस्त बजारको बिषयमा सहभागिले प्रश्न गरेका थिए । नगरपालिका क्षेत्रमा सार्वजनिक शौचालय सञ्चालन हुनुपर्ने, योजना छनौट तथा बजेट बाँडफाँड पारदर्शी र आवश्यकताका आधारमा गरिनुपर्ने, नगरपालिकाको नयाँ भवन अपांग तथा बालबालिका मैत्री हुनुपर्ने लगायत आवाज सहभागीले उठाएका थिए ।

नगरपालिकामा हालसम्म खेलकुद समिति बन्न नसक्नु दुखद रहेको बताउदै सहभागीले निर्वाचित भएको झण्डै ४ बर्ष बितिसक्दासमेत जनप्रतिनिधिले अझै सिकाइकै क्रममा रहेको भन्दै आलटाल गर्न नपाइने बताए । कुशल पाठक, चुम्बक लामा, सुरेश बिश्वकर्मा, जगत कुवँर, आर्यन सेढाई, आशिष खरेल लगायतले नगरपालिकाको बिकास निर्माण, योजना कार्यन्वयन तथा विभिन्न क्रियाकलापका बारेमा प्रश्न गरेका थिए ।

जवाफमा नगरपालिकाका प्रमुख प्रभा बरालले तत्काल नतिजा खोज्नु भन्दा सकरात्मक प्रयास गरिनु नै महत्वपुर्ण भएको बताइन् । उनले नगरभित्रको फोहर जापनिज प्रविधिबाट ब्यवस्थापन गर्नका लागि सम्झौता भइसकेको बताउदै अब फोहर तत्काल ब्यवस्थापन हुने बताइन् ।

नगरपालिकाका भुभागहरु असमान रहेको र बिकासको रेखांकन गर्नका लागि महत्वपुर्ण कामहरु भएको उनको भनाई छ । उनले विभिन्न सिपमुलक तथा आयमुलक कार्यक्रमहरु, खेलकुद, शिक्षा तथा स्वास्थ्यमा उल्लेख्य लगानी गरिएको प्रस्ट पारिन् । नगरपालिकाका उपप्रमुख इमानसिहं लामाले कोरोना भाइरसका कारण कार्यसम्पादनमा बाधा पुगेको बताउदै फोहर ब्यवस्थापन, शौचालय ब्यवस्थापन, योजना कार्यन्वयन लगायत कामहरु चुस्त र दुरुस्त बनाइने बताए । उनले जनताबाट आएका गुनासाहरु मनन गरि थप सुधार गर्दै लगिनेसमेत बताए ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगा बहादुर भुजेलले काम गर्दै जाने क्रममा गल्ती हुने बताउदै सुधार गर्दै अघि बढ्ने बताए । उनले कर्मचारीले सेवाग्राहीलाई दुख दिएको, काममा आलटाल गरेको, पैसा माग्ने गरेको प्रमाणित भए तत्काल कारबाहि गरिने प्रतिबद्धता जनाए।

कार्यक्रममा नेकपा राप्तीका इन्चार्ज मान बहादुर स्यांबो, नेपाली काँग्रेसका नगर सभापति नारायण उप्रेती लगायतले सबैसँग सहाकार्य र हातेमालो गर्दै अघि बढ्न सुझाव दिए । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य किरण भुषण ओली, नगरपालिकाका प्रबक्ता अमर बहादुर तामागं, विभिन्न वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायत जनप्रतिनिधि तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो । सार्वजनिक सुनुवाईका लागि नागारिक प्रतिवेदन तथा बहिर्गमन अभिमतको आधारमा सेवाग्राहीमाझ सर्वेक्षण गरिएको थियो । सो क्रममा नगरपालिकाका विभिन्न भुगोलका ५० जना सेवाग्राहीमा सर्वेक्षण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर