
हामीले प्रहरीलाई जनताको सेवामा खटिरहको देख्छौँ । जनताको सुरक्षामा अहोरत्र खटिने प्रहरीकै कारण हामी आनन्दसँग सुत्न र हिँडडुल गर्न सक्छौँ । अपराध हुँदा सजाय बनेर, अन्याय पर्दा न्याय बनेर अनि विपद पर्दा व्यवस्थापन बनेर जनताको माझमा छाइरहने शब्द हो प्रहरी ।
कहिले धेरैभन्दा धेरै समय एकैठाउँ उभिएर कर्तव्य निभाउनु पर्ने प्रहरीले कहिले कति रातहरु अनिदोमा नै बिताउनुपर्ने हुन्छ । दैनिक जीवनको हरेक अवतारमा मानवसेवामा लागिपर्ने प्रहरीको अर्को मानवसेवाको दृश्य पनि कैद गर्न पाइयो – रक्तदान कार्यक्रमा ।
चितवन जिल्ला ऋण तथा सहकारी संस्थाको रजत महोत्सवको अवसरमा राप्ती नगरपालिकामा आयोजित रक्तदान कार्यक्रममा कैद गरिएको तस्बिर अरुभन्दा अलि फरक थियो ।
ईलाका प्रहरी कार्यालय भण्डाराबाट प्रतिनिधित्व गर्दै प्रहरी सहायक निरीक्षक मिलन पौडेल, प्रहरी हवल्दार रामेश्वर अर्याल र प्रहरी जवान अजय स्याङ्तानले रक्तदान दिइरहेको त्यो दृश्य एकदम मनछुने खालको थियो । (विशेष कारणवश अजय स्याङ्तानको तस्बिर कैद गर्न सकिएन )
प्रहरी भएर रक्तदान गर्नै नहुने भने पक्कै होइन तर “रक्तदान, जीवनदान” भन्ने नारालाई आत्मसात गर्दै कार्यक्रममा उपस्थित भइ रक्तदान गर्नुलाई यसै नकार्न पनि सकिँदैन । मैले खिचेको यो तस्बिर र लेखिरहेको यो शब्द यसरी यहाँ बुनिन्छ भनेर उहाँहरुलाई नै थाहा छैन । यो नितान्त प्रहरी प्रतिको एक सम्मान मात्र हो ।