कवि तथा लेखक रमेश सायन साहित्य साधनामा सक्रिय छन्। उनको ‘भागेर भुगोलभरि’ (कवितासंग्रह) र ‘छुटेका अनुहार’ (गैर आख्यान) प्रकाशित छ। उनको ‘छुटेका अनुहार’ किताबले २०७५ सालको पद्मश्री साहित्य पुरस्कार पाउन सफल भएको थियो। सजिलोपाटी डट कमद्वारा सञ्चालित ‘लेखकलाई १० प्रश्न’ साहित्यिक स्तम्भको अंक ०७ मा सजिलोपाटी डट कमका प्रधान सम्पादक सुरज बराकोटीले उनीसँग गरेका कुराकानी यस्तो रहेको छ:

१. लकडाउनको समय कसरी व्यतित गर्नुभयो?

धेरै सुतें । अलिअलि खेतबारीमा काम गरें । थोरै पढें, लेखें । कोभिडको हल्लाले गर्दा धेरै डराएँ । समय उसै बिति जाने रहेेछ । हिँडिरहन्थें । घर बस्न पाएँ । रमाइलै गरि बित्यो । नयाँ अनुभव भयो । भोग्न पाइयो । भोगाइको लागि यो समय अवसर पनि हो ।

२. भर्खर कोरोना संक्रमण मुक्त हुनुभयो। संक्रमण अवधिभरको केही तितामिठा अनुभव छन् कि?

मेरो लागि अनुभव कहिल्यै तिता हुँदैनन् । जे भए पनि मिठै हुन्छन् । आइसोलेसनमा रमाइलो भयो । फरकफरक मान्छेसँग संगत गर्न पाएँ । तीनका कथा सुन्न पाएँ । ती मेरा साथी भए । यतिका मान्छेले भोगेको कुरा मैले पनि चाँडैं भोग्न पाएँ । रमाइलो भयो । मुख्य कुरा चाँही मान्छे मृत्युसँग कसरी डराउँछ भन्ने कुरा नजिकबाट देख्न पाएँ । डराइरहेको मान्छेलाई नजिकैबाट हेर्न पाएँ । आइसोलेसन् मेरो लागि फरक अनुभव गर्न पाउँने थलो भयो ।

३. तपाईंलाई कविता लेख्नुमा बढी आनन्द आउँछ कि कतै घुमफिर गर्नुमा आनन्द आउँछ ?

आनन्द तुलानात्मक कुरा हैन । कविता हरदम लेख्न सकिदैन । कहिलेकाँही लेखिन्छ । तर यसबाट मज्जाको आनन्द लिन्छु । तर मेरो पहिलो रुची यात्रा हो । यत्रा गर्दा हरदम नयाँ कुरा महसुस गर्न सक्छु । फरक संगत र वातावरणमा पुग्छु । यात्रा कविताको स्रोत पनि हो । कविता चेतना र सौन्दर्यको अन्तिम उच्चाइ हो । यात्रा बिना चेतनाको द्वार खुल्दैन । म यात्रा बिना केही सोच्नै सक्दिनँ । दिमाग बन्द हुन्छ । लामो समय कतै हिँडिनँ भने बेस्मारी रिस उठ्न थाल्छ । के कारण रिसाउँदै छु । भेउ नै पाउँदिनँ । यदि मैले जीवनमा पूर्णकालिन यात्राको अवसर पाउँने हो भने धेरै कुरा हाप्न सक्छु । जस्तै लेख्ने कुरा पनि हाप्न सकुँला ।

४. कुनै कवि/लेखकले आफ्नो लागि समय कसरी निकाल्छ ? कतिपय कवि/लेखकहरु मैले आत्म सुखको लागि लेख्छु भन्छन् । के आत्म सुख हुनको लागि लेख्नै पर्छ ?

कुनै मान्छेको लागि लेखन मनपर्ने कर्म हो भने समय मिलाउँनु पर्दैन त्यो आफैं मिल्छ । मन पर्ने कुराको लागि समय आफैं मिलेर आउँछ । मान्छे जतसिुकै व्यस्त भए पनि आफ्नी प्रेमी, प्रेमिकालाइ सम्झिन्छ नि ।
आत्म सुख,कर्म मान्छे पिच्छे फरक हुन्छ । कसैले लेखेर त्यो सुख पाउँला कसैले गीत गाएर पाउँला कसैले सुतेर पाउँला कसैले हिँडेर डुलेर पाउँला । लेखकले लेखेर पाउँछ । मेरो हकमा, लेखेर पाउँने आत्म सुख्ख अरुकेही बाट पाएँ भने लेख्ने कर्म बन्द हुन्छ । म नयाँ सुखमा लिन हुन्छु । संयोग मेरो लेखनलाई विस्तापित गर्ने कुनै नयाँ सुख फेला पारेको छैन । पूर्णकालिन यात्रु हुने इच्छा थियो । जसले लेखनलाई विस्थापित गर्ने सम्भावना थियो । तर त्यो अब सम्भब छैन भन्दा पनि हुन्छ ।
यसकारण म लगातार लेखिरहेको छु ।

५. भागेर भुगोलभरि’ कवितासंग्रह पछि ‘छुटेका अनुहार’ गैर आख्यानलाई पुस्तकको रुपमा उतार्दा के-कस्ता परिस्थितिहरुको सामना गर्नुपर्यो?

छुटेका अनुहारमा जे जति विषय लेखिएकाछन् । ती मेरो जीवनका निजी भोगाई र घटनाहरु हुन् । जसले मेरो जीवनलाई महत्वपूर्ण असर पारे । मलाई म जस्तै बन्न प्रेरित गरे ।
छुटेका अनुहार पनि किताब होला भनेर कहिल्यै सोचिनँ । त्यो लेख्दै जाँदा अन्त्यमा किताब हुनपुग्यो । छुटेका अनुहार योजनाबद्ध भएर आएको हैन । एउटा आकस्मिकता हो । यसकारण छुटेका अनुहार साह्रै सजिलो गरि किताबको आकारमा पुग्यो ।

६. ‘छुटेका अनुहार’ किताबबाट पद्मश्री पुरस्कार पाउँदा आफू सफल भएको महसुस कत्तिको गर्नुभयो?

पुरस्कारले सफल्ता र असफल्ताको मापन गर्दैन । यसको मापन त पाठकले गर्ने हुन् । पुरस्कार क्षणिक कुरा हो । पुरस्कारले एकछिन आनन्द दिन्छ तर त्यसलाई सफलता मान्न सक्दिनँ । मेरो सफलता र असफलता पाठकको हातमा छ । मैले राम्रो गर्न सकें भने पाठकले चिहानबाट खोतलेर भए पनि ल्याउँछन् । नराम्रो गरें भनें जे र जत्रो सुकै पुरस्कार पाएँ पनि त्यो क्षणिक हुन जान्छ । मेरो सफलता नाप्ने बेला भाकै छैन । म सिक्दैछु । लेख्ने कोसिस गर्दैछु । अहिले सम्म मलाई केही आउँदैन । पुरस्कार पाउँदैमा राम्रो लेख्न सक्छु भन्ने हुँदैन । त्यस माथी त्यो त किताबलाई दिइएको पुरस्कार हो । भोली झुर वा राम्रो लेख्न त बाँकि नै छ ।

७. विभिन्न डिजिटल माध्यमहरुको बिकाससँगै भविष्यमा पठन संस्कृतिमाथि कस्तो प्रभाव पर्ला?
यो त एकदम राम्रो हो । यहाँ लेखेको कुरा कहाँकहाँसम्म पढ्न पाइन्छ । अहिले तपाई र मेरो कुराकानी संसारको कुनै कुनाबाट पाठकले पढिरहनु भएको होला । मेरै किताबको डिजिटल कपि अमेजनबाट बिक्री भइरहेको छ । यदि डिजिटल दुनियाको आविस्कार भएको थिएन भने हामी कति साँघुरो हुने थियौं । जे छ डिजिटल दुनियाँमै छ । कति राम्रा र सुन्दर कुरा पढ्न पाइराखिएको छ हेर्नुस् न ।

८. साहित्यिक किताब पाठकले किन पढ्नुपर्छ?

किन पढ्नुपर्छ भनेर त म भन्न सक्दिनँ ।
तर म चाँहि जीवनका मिहिन कुराको आनन्द लिन पढ्छु । कहिल्यै कल्पना नगरेका बिचार र घटनाको नयाँ तहमा पुग्न सक्छु । मलाई नयाँ कुरा मनपर्छ ।

९. किताब लेख्दा तपाईँले पात्र र बिषयवस्तुको छनौट कसरी गर्नुहुन्छ?

मैले आजसम्म अफ्नो भोगाइ र अनुभूती मात्र लेखेको छु । केही कथाहरु लेखेको छु । कथा लेख्दा पात्रबारे पुर्ण जानकारी लेख्नु पुर्व नै लिन्छु । पात्रको रुची देखि स्वभावसम्म बिचार देखि पात्रको चेतनाको तहसम्म सबैकुरामा स्पष्ट भए पछि मात्र लेख्नु बस्छु । तर कथाहरु पठकलाई पढ्न दिने हिम्मत हाजसम्म पुर्याउँन सकेको छैन । यस मामिलामा साह्रै कायर छु जस्तो लाग्छ ।

१०. नयाँ पुस्तक आउँदै छ कि? यदी छ भने कुन विषयबस्तुलाई उठान गर्नुभएको छ?

आख्यानको तयारी भइरहेको छ । तर त्यो बजारमा आउँछ आउँदैन अहिले भन्न सकिदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर