गोविन्दप्रसाद कँडेलले एमालेबाट राप्तीको मेयरमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । कँडेल लगायत अन्य ४ जनाको आकांक्षा पनि मेयरमा रहेको छ । उनी एमाले बागमती प्रदेश कमिटी सदस्य एवम् चितवन क्षेत्र नम्बर १ प्रदेश ‘क’ का ईन्चार्ज हुन् ।

गोविन्दप्रसादको समाजिक तथा राजनीतिक जीवनको बारेमा हामी केही चर्चा गर्नेछौँ :-

वि.स. २०१२ सालमा बागलुङमा जन्मिएका कँडेल २०२१ सालमा स-परिवार साविक कठार गाविसमा बसाइँ सरि आएका थिए । मुख्य गरि २०३६ सालमा विद्यार्थी आन्दोलनबाट आफ्नो राजनिती सुरु गरेका उनले २०३८ सालमा अखिल नेपाल किसान संघ नेकपा मानन्धर समूहबाट राजनितीमा सक्रिय भएका हुन् ।

जनवर्गीय संगठन युवक संगठनको २०३८ सालमै सदस्यता लिगेका कँडेल युवक संगठनको गाउँ पञ्चायत सभापति पनि भएका थिए । त्यतिबेला पञ्चायत भित्र छिरेर पञ्चायतकै विरोध गर्ने केन्द्रको निर्णय रहेको थियो । उनका बुबा दयाराम कँडेल पनि बहुदलीय व्यवस्था पुनर्स्थापना गर्न सक्रिय रहेका थिए । दयाराम कँडेलकै अध्यक्षतामा गाउँमा स्कुल स्थापना भएको थियो र गोविन्दप्रसादले त्यही आफ्नो अक्षराम्भ गरेका थिए । उनले सधैँ आफ्नो बुबालाई नै सामाजिक क्षेत्रको प्रेरणाको रुपमा लिए ।

वि.स. २०४२ सालमा तत्कालीन नेकपा मालेकी सीता पौडेलको प्रेरणाले कँडेल मालेमा संगठित भइ सक्रिय भएका थिए । वि.स. २०४३ सालमा राष्ट्रिय पञ्चायतमा चितवनबाट जनपक्षीय उम्मेदवारलाई जिताउन महत्वपूर्ण भूमिका निभाएका थिए । त्यतिबेला पञ्चायतमा छिरेर पञ्चायत व्यवस्था फाल्ने र बहुदलीय व्यवस्थाको पुनर्स्थापना गर्ने पार्टीको सिद्धान्त रहेको थियो । वि.स. २०४६ फागुन ७ गते नारायणगढको सहिद चोकमा पञ्चायत व्यवस्था विरुद्धको आन्दोलनमा आफु सहित चारजना भाइहरुको सहभागिता जनाए । जहाँ उनले आफ्नो माइलो भाई बलराम कँडेललाई गुमाउनुपर्यो ।

त्यसबखत नेकपा माले बीरेन्द्रनगर गाउँ कमिटी सदस्य थिए । चैत्र २६ गते बहुदलीय व्यवस्था घोषणा भएपछि वि.स. २०४७ बैशाखमा उनले गाउँ कमिटीको सचिवको जिम्मेवार प्राप्त गरे । त्यस लगत्तै ईलाका कमिटी सचिव, क्रमिक रुपमा क्षेत्रीय कमिटी सदस्य, सचिव, अध्यक्ष, जिल्ला कमिटी सदस्य भए ।

वि.स. २०६४ सालमा क्षेत्र नम्बर १ का ईन्चार्ज एवम् चितवन जिल्ला कमिटी सचिवालय सदस्य रहेका थिए । नारायणी अञ्चलबाट एमालेले २ सिट चुनाव जितेको थियो जसमा यस क्षेत्र पनि एक रहेको थियो ।

वि.स. २०५० सालमा तत्कालीन बीरेन्द्रनगर गाविसले क्याम्पस खोल्ने निर्णय गर्यो र गाउँसभाबाट पास गर्यो । सर्वदलीय बैठकले कँडेलको नेतृत्वमा तदर्थ समिति गठन गरिएको थियो । त्यसबेला सप्तगण्डकीको शाखाको रुपमा क्याम्पस सुरु गरिएको थियो । वि.स. २०५३ सालमा उनले घरजग्गा र राइस मिल धितो राखेर त्रिभुवन विश्वविद्यालयमा रकम डिपोजिट गरि जन आदर्शको नाममा क्याम्पसले स्वीकृत प्राप्त गर्यो । कँडेल आजको मितिसम्म पनि क्याम्पस सञ्चालक समितिमा रहेका छन् । एक कार्यकाल उपाध्यक्ष रहेका उनी समितिको हरेक कार्यकालमा अध्यक्ष पदमा रहेका छन् । वि.स. २०५४ सालमा चितवन जिल्ला विकास समितिको सदस्य उनी निर्वाचित भएका थिए ।

कँडेल सामाजिक क्षेत्रमा सक्रिय रहेका छन् । उनकै पहलमा कोरोना माहामारीले थलिएका विपन्न जनतालाई खाद्यान्न सामाग्री र स्वास्थ सामाग्री वितरण गरिएको थियो । कोरोनाको दोस्रो लहरमा विदेशी संस्थासँग पहल गरि राप्ती नगरपालिकाका स्वास्थ्यकर्मीहरुलाई ३५ लाख बराबरको स्वास्थ्य सामाग्री पनि हस्तान्तरण गरिएको थियो । राप्तीका विभिन्न वडामा रहेका विपन्न परिवार र विद्यार्थीहरुलाई स्वीटर तथा शैक्षिक सामाग्री वितरण गरिने कार्य पनि उनको नेतृत्वमा गरिएको थियो ।

क्याम्पसको भवन निर्माणको लागि धान्याञ्चल, सिरकोटको शिवालय मन्दिर निर्माणार्थ धान्याञ्चल, खुरखुरे र शान्तिबजार जोड्ने पुल निर्माणको लागि धान्याञ्चल लगायत नेता जेपी भेटवालको नेतृत्वमा रहेको लोथर – राप्ती ड्याक संरक्षण समितिको सल्लाहकार र कार्य समिति सदस्यमा रहि राप्ती खोलाको तटबन्धको कार्य गर्नुका साथै नाला, कुलो बनाउने काम गरेका थिए । राप्ती-४ डडुवा- चौकीडाँडा हुँदै २८ किलोमिटर कालोपत्रे सडक उनकै नेतृत्वमा गरिएको हो ।

वि.स. २०६२ देखि ६६ सम्म सामुदायिक वन उपभोक्ता महासंघको जिल्ला अध्यक्ष भई समुहलाई वन हस्तान्तरण गर्ने काम गरेका थिए । उनी सामुदायिक वनको केन्द्रीय सदस्य समेत भएका थिए ।

यसरी कँडेलले किसान, नदीनाला, सिचाइ, वन जंगल तथा वन्यजन्तु संरक्षण, शैक्षिक, सामाजिक तथा राजनैतिक क्षेत्रमा काम गरि अगाडि बढेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर