बैशाख १४, राप्ती । आगामी स्थानीय तहको निर्वाचनको लागि नेकपा एमाले राप्ती नगरपालिकाले निर्वाचन परिचालन कमिटी सहित सहित विभिन्न कमिटीहरु गठन गरेको छ । बुधबार मगर समाज हलमा आयोजित विस्तारित बैठकले बागमती प्रदेश कमिटी सचिवालय सदस्य दावा दोर्जे लामाको संयोजकत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । जसमा राप्ती नगर भित्र रहेका सम्पूर्ण प्रदेश कमिटी, जिल्ला कमिटी, जिल्ला विभागका सदस्य, पूर्व जिल्ला कमिटी सदस्य, नगर कमिटी पदाधिकारी र सचिवालय सदस्यहरु रहेका छन् ।

त्यस्तै नगर कमिटी अध्यक्ष पूर्ण बहादुर थापाको अध्यक्षतामा २,५०१ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन गरिएको छ । केन्द्रीय कमिटी सदस्य प्रभा बरालको संयोजकत्वमा अनुगमन समिति, राष्ट्रिय युवा संघ नेपाल राप्ती नगर कमिटी संयोजक उत्तम सेढाईको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन समिति, राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य विश्वशान्त लामाको संयोजकत्वमा मोर्चा संगठन परिचालन समिति गठन गरिएको छ । कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी एमाले स्थायी कमिटी सदस्य सीता पौडेलले राप्तीका १३ वटै वडामा क्रियाशील भएर लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएकी छन् । पौडेलको अनुसार १८ गते देखि २६ गतेसम्म घरदैलो कार्यक्रम गरिनेछ । अन्तिम चुनावी सभा राप्ती-४ स्थित काशीरुपा खेल मैदानमा गरिने पनि उनले बताएकी छन् ।

कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य जेएन थपलिया, प्रभा बराल, बागमती प्रदेश कमिटी सदस्य इमानसिंह लामा, एमालेका नगर प्रमुख उम्मेदवार बागमती प्रदेश कमिटी सदस्य गोविन्दप्रसाद कँडेल, नगर उप प्रमुखकी उम्मेदवार चितवन जिल्ला कमिटी सदस्य मेनुका पाठक लगायतले मन्तव्य राखेका थिए । नगर कमिटी अध्यक्ष पूर्ण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नगर कमिटी सह-सचिव राजकुमार कँडेलले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर