
चितवन, वैशाख १७–
मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले अन्तिम नामावली प्रकाशन गरेको छ । जस अनुसार भरतपुर महानगरपालिकामा १८२ जना उम्मेद्वारले मनोनयनपत्र फिर्ता लिएका छन् ।
शुक्रबार साँझ ५ बजेसम्म मनोनयनपत्र फिर्ता लिएपनि अबेरसम्म फिर्ताको कार्यक्रम चलेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार भरतपुरको प्रमुखमा ३ र उपप्रमुखमा ३ जना उम्मेद्वारले मनोनयनपत्र फिर्ता लिएका छन् । फिर्ता लिने प्रमुखका उम्मेद्वारहरुमा राष्ट्रिय जनमोर्चाका भक्तीराम शर्मा गौतम, स्वतन्त्र उम्मेद्वारहरु रुद्रप्रसाद सापकोटा र दुर्गाप्रसाद शर्मा रहेका छन् ।
फिर्ता लिनेमा उपप्रमुखका उम्मेद्वारहरुमा राष्ट्रिय जनमोर्चाकी देवी शर्मा, स्वतन्त्र उम्मेद्वार भोजराज कौडाल र रविचन्द्र अधिकारी रहेका छन् । यस्तै २८ जना वडा अध्यक्ष, ७९ जना खुल्ला सदस्य, ३८ जना महिला सदस्य, ३१ जना दलित सदस्यले उम्मेद्वारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले जानकारी दिए ।
महानगरभित्र गठबन्धन आवद्ध दलहरुले वडा सदस्यसम्म भागबण्डा गरेपछि अन्तिम समयमा उम्मेद्वारी फिर्ता लिएको संख्या बढेको थियो ।