
रत्ननगर, १५ कात्तिक ।
लेखराम सापकोटा,
अर्थोपेडिक तथा स्पाइनल सर्जन डाक्टर कृष्णप्रसाद पौडेलको हालै सार्वजनिक पुस्तक `कम्मरीदेखि कोभिड कहर´मा सबै जनमानसले आफ्नै शरीरको स्वास्थ्यको बारेमा जानकारी लिनसक्ने सामग्रीहरू समेटिएका छन् ।
हाडजोर्नी र नसा सम्बन्धि जानकारीसँगै अहिले विश्वव्यापीरूपमा महामारी बनिरहेको कोभिड-१९ भाइरसबाट कसरी सुरक्षित रहन सकिन्छ भन्ने प्रसङ्ग पनि किताबमा छन् । गत कात्तिक ७ गते भरतपुरस्थित रामेश्वर पुस्तकालयमा सार्वजनिक गरिएको पुस्तकलाई लेखकको गृहनगर रत्ननगरमा शनिबार विमोचन गरिएको छ । टाँडी, निपनीस्थित स्टार ब्याङ्क्वेटमा आयोजित पुस्तकको गृह विमोचन कार्यक्रममा बोल्दै नगरप्रमुख नारायण बनले पुस्तकको माध्यमबाट आम मानिसले आफ्नो स्वास्थ्यको ख्याल आफैं राख्न सक्ने बताए । `पुस्तकमा हाडजोर्नी, नसा र स्वास्थ्यसम्बन्धि जानकारी छन्´, नगरप्रमुख बनले भने- `पुस्तक पढेर घरमै बसिबसी आफ्नो सामान्य स्वास्थ्य अवस्थाबारे आफैंले जानकारी लिइ स्वास्थ्यसम्बन्धि सचेतना अपनाउन सकिन्छ । चिकित्सा पेशामा संलग्न डाक्टर लेखनकर्ममा पनि लागेर बहुआयामिक छबि बनाएकोले उहाँ यस क्षेत्रका रत्न हुनुहुन्छ´
यो पुस्तक नगरका हरेक वडावडामा पुर्याएर नगरबासीलाई पनि पढ्न मिल्ने गरि पुस्तकालयमा राखिने बनले बताए ।
लेखक पौडेलका माता तुलसा एवम् पिता कोपिलामणिसँगसँगै कार्यक्रमका सभापति रामबाबु घिमिरे, प्रमुख अतिथि रत्ननगर नगरपालिकाका प्रमुख नारायण बन र लेखक पौडेलले पुस्तकको गृह विमोचन गरेका हुन् । पुस्तकको विमोचनपछि पुस्तकका बारेमा बोल्दै समीक्षक धनराज गिरीले स्कुल, कलेजमा सन्दर्भ पुस्तकका रूपमा यो किताब उपयोगी हुने बताए । `तत्काल डाक्टर नहुँदा आफ्नो स्वास्थ्य अवस्था आफैँले थाहा पाउन यो पुस्तक उपयोगी बन्छ´, गिरीले भने – यो पुस्तक बजारमा पाइने गरेको `डाक्टर नभएमा´ पुस्तककै सिलसिला हो ।
अर्का वक्ता लक्ष्मण अर्यालले यो पुस्तक आफ्नो उपचार आफैं गर्न सहयोगसिद्द भएकोले जो कसैलाई उपयोगी रहने बताए । रत्ननगर- २ का वडाध्यक्ष तिलकराज शर्माले डाक्टर पौडेलले आममानिसलाई आफ्नो स्वास्थ्यबारे घरमै बसेर पनि आफ्नो स्वास्थ्यको देखभाल गर्न सकून् भनेर पुस्तक लेखेको बताए ।
कार्यक्रम वाल्मीकि साहित्य सदनले आयोजना गरेको थियो । बिरामीको उपचारमा व्यस्त भैरहने डाक्टरले आम नागरिकको स्वास्थ्यको ख्याल गर्दै किताब लेखेकोमा कार्यक्रमका सभापति रामबाबु घिमिरेले लेखक पौडेललाई धन्यवाद दिए ।
२०५५ सालमा एमबीबीएस सकेर इन्टर्नसिप गर्दै चिकित्सकीय पेशामा लागेका डाक्टर पौडेल २०५७ सालमा बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानबाट चिकित्सा शास्त्रमा स्नातक हुन् । २०६३ सालमा चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठानबाट अर्थोपेडिकमा स्नातकोत्तर गरेका उनी हाल भरतपुर अस्पतालमा कार्यरत छन् । उनले हात, खुट्टा र मेरुदण्डसम्बन्धि हजारौं मानिसको कुशलतापूर्वक उपचार र शल्यक्रिया गरेका छन् । हाडजोर्नी र नसासम्बन्धि लेखहरूका साथै समकालीन स्वास्थ्य सरोकारका बिसयमा नियमितरूपमा कलम चलाउँदै आएका उनी साहित्य लेखन र पठनमा पनि रुचि राख्छन् । यसअघि २०७४ सालमा उनको `खुसीहरूको वनवास´ कवितासङ्ग्रह प्रकाशित छ ।
`कम्मरीदेखि कोभिड कहर´ साङ्ग्रिला बुक्सले प्रकाशन गरेको हो । पुस्तक वितरणको जिम्मा सम्पूर्ण किताबले लिएको छ । बिक्री मूल्य ३३५ रहेकोे पुस्तक मुलुकभरका प्रमुख पुस्तक पसलमा उपलब्ध छ ।