
शमशेर लामा राप्ती नगरपालिकाको लागि नौलो नाम पक्कै होइन । वि.स. २०७४ सालको स्थानीय तह निर्वाचनमा राप्ती-४ को वडा अध्यक्षमा निर्वाचित भएका लामा अहिलेको निर्वाचनमा राप्तीको नगर प्रमुख पदमा निर्वाचित भए ।
नगर प्रमुखमा नव निर्वाचित शमशेर लामाको सामाजिक र राजनितीक जीवनबारे हामी केही चर्चा गर्नेछौँ :
वि.स. २०६२ सालको जनआन्दोलनमा होमिएका लामाले वि.स. २०६३ सालमा नेकपा एमाले पार्टीको सदस्यता लिएका थिए । सोही बर्ष लामा साविक भण्डारा गाविस वडा नं. ८ का पार्टी सचिव भएका थिए । वि.स. २०६४ सालको संविधान सभा चुनावभन्दा अघि गाउँ कमिटीको सचिवालय सदस्य भएका उनले चुनावमा वडा ८ को चुनावी कमाण्डरको जिम्मा सम्हालेका थिए । त्यसलगत्तै वि.स. २०६५ सालमा युवा संघ नेपालको गाउँ कमिटी अध्यक्ष र २०६६ सालमा युवा संघ नेपालको क्षेत्र नम्बर १ को उपाध्यक्ष साथै क्रमिक रुपमा संयोजक भएका थिए ।
वि.स. २०७० सालमा चुनावी कमाण्डर भई दोस्रो संविधानसभाको चुनावमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई विजयी बनाउन सफल भएका थिए । वि.स. २०६४ देखि ६८ सम्म काशीरुपा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भई सफलता पूर्वक आफ्नो कार्यकाल गरेका थिए । लगत्तै उनले सोही विद्यालयमा शिक्षकको रुपमा तीन बर्ष अध्यापन पनि गरेका थिए ।
वि.स. २०७२ सालमा पार्टीको वडा कमिटी अध्यक्षमा लामा निर्वाचित भए । त्यसबखत राप्ती नगरपालिकाको अवधारणा आइसकेको भएपनि ११ वटा मात्र वडा थिए । सो वडाहरु मध्ये सबैभन्दा पहिला उनी नै वडा कमिटी अध्यक्ष निर्वाचित भएका थिए । वि.स. २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेले उनलाई राप्ती-४ को वडाध्यक्ष पदमा उठाउने निर्णय गर्यो । सो निर्णयलाई आत्मसात गर्दै लामा चुनावी मैदानमा होमिए र १ हजार १ सय ६५ मत प्राप्त गरि वडाध्यक्षमा निर्वाचित भए ।
लामा वडाध्यक्षमा निर्वाचित भएसँगै धेरै सामाजिक कार्यहरुमा आफ्नो अग्रसरता देखाए । राप्तीमा पहिलो पटक गर्भवती तथा सुत्केरी महिलाहरुलाई भत्ता वितरण र विपन्न परिवारलाई स्वास्थ्य बिमाको सुरुवात गरे । सेवाग्राहीलाई सहज होस् भनी उनले वडा भवनको निर्माण कार्यलाई तिव्रता प्रदान गरे । फलस्वरूप आफ्नै वडा भवनको कार्यालयबाट सेवा प्रदान गर्ने पहिलो वडा राप्ती-४ नै बन्यो । उनको नेतृत्वमा वडाले विभिन्न सुविधा ल्यायो जसले उनलाई जनता माझ झन् भन्दा झन् लोकप्रिय बनाउदै लग्यो ।
वडामा भएका अति विपन्न वर्गलाई खानेपानी र बिजुली न्युनतम मूल्यमा भुक्तानी गर्ने काम गरे । उनकै पहलमा काशीरुपा आधारभूत विद्यालयलाई अङ्ग्रेजी माध्यममा निशुल्क रुपमा सञ्चालन गर्ने काम गरे । विद्यालयमा लाइब्रेरीको स्थापना र स्मार्ट ड्यासबोर्डको प्रयोग गरि पढाउने व्यवस्था उनले मिलाए ।
युवा तथा खेलकुद विकासको लागि लामा सधैँ अग्रस्थानमा रहे । आफ्नो वडाको मात्रै नभई राप्तीका विभिन्न वडाका युवाहरुलाई उनले खेलकुद सामाग्री वितरण गरे । वडा भवन नजिकै रहेको शिवपुरी क्लबको खेल मैदानलाई स्तर उन्नति गर्ने काम उनले गरे ।
नेपालमा राजनीतिक हलचलसँगै लामा लोकतन्त्रको पक्षमा आवाज बुलन्द पार्दै अगाडि बढे । नेकपा विभाजन भएपछि उनी एमाले माधव पक्षको जिल्ला सदस्य तथा राप्ती नगर सचिव भए । जब एमाले विभाजन भयो राप्तीबाट लामा र राप्तीकै अर्का जनप्रतिनिधि ज्ञानप्रसाद पाण्डे नेकपा (एकीकृत समाजवादी) मा लाग्ने निर्णय गरे र पार्टी संगठनको कार्यलाई तीव्रता दिए । उनी युवा संघ नेपालको स्थायी कमिटी सदस्य हुन् । नेकपा (एस) जिल्ला कमिटी सचिवालय सदस्य र राप्ती नगरको अध्यक्ष भइ उनले संगठन निर्माण गर्दै आएका छन् । उनकै सक्रियताले राप्तीमा पार्टीको संगठन बलियो बनाउन लामा सफल भएका छन् । विभिन्न छरिएका कम्युनिस्ट पार्टीहरुलाई एकताको बाटो डोर्याउने काम उनले गरेका छन् ।
आफू वडा अध्यक्ष पदमा रहँदा शिक्षा, स्वास्थ्य, खानेपानी, खेलकुद विकासमा साथै बाटो पिच, ढलान र भौतिक संरचनाको निर्माणमा अहम भुमिका खेलेका कारण शमशेर लामा युवाहरु माझ मात्र नभई सबै जनता माझ लोकप्रिय छन् ।