
हक्की स्वभावको, अन्यायको विरुद्धमा बोल्न कहिल्यै नडराउने अनि युवा माझमा प्रिय देवेन्द्र लामाको राजनिती पृष्ठभूमि त्यति लामो छैन । उमेरले ४३ बर्ष मात्र भएका उनको जीवनको भोगाइ अरुको भन्दा फरक भने पक्कै छ । राजनितीको दुनियाँमा चाँडो फड्को मार्ने व्यक्तिहरुको सूचीमा उनी पनि पर्दछन् ।
वि.स. २०५१ सालमा विद्यार्थी जीवनबाट राजनिती सुरु गरेका उनी वि.स. २०५५ देखि २०७१ सम्म इन्डियन आर्मीमा कार्यरत रहे । १७ बर्षे लामो जागिरबाट अवकाश पाएपछि उनी नेपाल फर्किए । वि.स. २०७२ सालको बैशाखमा भुकम्प गयो । त्यसपश्चात् उनी प्रत्यक्ष रुपमा समाजिक सेवामा लाग्न थाले । भुकम्पले आघात पुर्याएको जनताको घरमा राहतका प्याकेजहरु पुर्याउन थाले । लमजुङमा ३५४ घरधुरीलाई उनले राहत सामाग्री वितरण गरे । गोरखाबाट घरवारविहीन भएका ४५ घरधुरीलाई राप्तीमै २ चोटि राहत सामाग्री वितरण गरे । जसमा खाद्यान्न लगायतका सामाग्रीडहरु रहेका थिए । त्यस्तै राप्ती नगरपालिका वडा नम्बर १२ मा १२० घरधुरीलाई पनि उनले राहत वितरण गरे ।
नेपाली काँग्रेसको तेह्रौं महाधिवेशन अन्तर्गत भएको क्षेत्रीय अधिवेशनमा उनी सदस्यमा निर्वाचित भए । उनी क्षेत्रको उपसभापतिमा समेत मनोनीत भए । वि.स. २०७४ सालमा भएको स्थानीय चुनावमा उनले राप्ती नगरपालिका वडा नम्बर ९ को वडा अध्यक्षमा उठ्ने निर्णय गरे र निर्वाचनमा उनले विजय हासिल गरे । त्यसबखत राप्तीमा भएको १३ वटा वडामध्ये २ वटा वडामा मात्रै काँग्रेस विजयी भएको थियो । नगर प्रमुख, उप प्रमुख सहित अन्य ११ वटा वडाहरुमा एमालेले जितेको थियो ।
वडा अध्यक्षको जिम्मेवारी पदमा विजयी भएपछि देवेन्द्र जनताको हितको लागि काम गर्न अघि बढे । एकपटक समाचार संकलनकै क्रममा म (सुरज बराकोटी) उनको वडामा गएको थिए । वडाबासीलाई त्यहाँको सेवा प्रवाहको प्रसङ्गमा प्रश्न सोध्दा धेरैको उत्तर थियो “उहाँ हाम्रो वडा अध्यक्ष मात्र होइन, वडा अध्यक्षको रुपमा हामीले ‘साथी’ पाएका छौँ ।” यो कुरा मैले हाम्रो राप्ती एफ एमबाट उनीसँग लिएको अन्तर्वार्तामा पनि भनेको थिएँ ।
वडा अध्यक्षमा निर्वाचित पश्चात् सर्वप्रथम उनले शिक्षालाई प्राथमिकता दिए । बन्द हुने अवस्थामा पुगेको आधारभूत विद्यालय चित्रकोटलाई संरक्षण गर्ने काम उनले गरे । यो नै उनको कार्यकालको महत्त्वपूर्ण उपलब्धि बन्यो । उनले युवा तथा खेल विकास र सामाजिक उत्तरदायित्व वहन गर्ने काम गरे । वडाको सुख्खाग्रस्त ठाउँमा बोरिङको उपलब्ध गराई सिँचाइको व्यवस्था मिलाए । जसले गर्दा किसानहरुलाई प्रत्यक्ष रुपमा फाइदा पुग्न सहयोग गर्यो । वडाको बजेटबाट झाँक्री टोलमा सेल्फी पुलको निर्माण गरे जसले वान ग्रुप र शितलटोल जोड्ने काम गर्यो । त्यस्तै रसौली र सिद्धिपुरलाई जोड्न पुलको निर्माण गरे ।
वडा कार्यालयको भवन निर्माणको लागि जग्गा थिएन । जग्गा खोज्ने काम भयो । स्थानीय कृष्णप्रसाद थपलियाले आफ्नो जग्गाको उपलब्ध गराए । वडा कार्यालयको भवन निर्माण कार्य सम्पन्न भयो । पूर्व स्वास्थ्यमन्त्री गगन थापाले वडा कार्यालयको भव्य उद्घाटन गरेका थिए ।
लामाले अमृतपानीमा गाउँघर क्लिनिकको निर्माण गरे । स्वास्थको क्षेत्रमा गरिएको उनको यो काम पनि सराहनीय रहेको छ ।
वि.स. २०७८ सालमा भएको नेपाली काँग्रेसको चौधौ महाधिवेशन अन्तर्गत भएको नगर अधिवेशनमा नगर सभापति पदमा निर्वाचित भए । नगर सभापतिमा निर्वाचित भए लगत्तै उनले काँग्रेस नगर समितिको कार्यालयको स्थापनामा विशेष जोड दिए । उनले काँग्रेसको संगठन निर्माणलाई तीव्रता दिए र राप्तीमा आफ्नो संगठनलाई बलियो बनाए ।
भर्खरै मात्र भएको स्थानीय तह निर्वाचनमा गठबन्धनको तर्फबाट राप्तीको उपमेयरमा १२६८२ मत ल्याएर उनी निर्वाचित भए । राप्ती नगरपालिकामा उनको आगमनसँगै नयाँ इतिहास लेखिएको छ । एमालेको गढ मानिने राप्तीमा उनको जित सहज थिएन तर राप्तीबासीको लागि एउटा नौलो आशाको किरण बनेर उदाउन उनी सफल भए । राजनितीमा अहिलेसम्म उनको यात्रा अविजित रहेको छ ।