काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली समाज विचलनतिर गइरहेको बताएका छन् । शुक्रबार सहिद कृष्ण सेन इच्छुकको २०औँ स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल र जनसांस्कृतिक महासंघ नेपालले काठमाडौंमा संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रिया तथा पुरस्कार प्रदान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपाली समाज बिचलनतिर गइरहेको बताएका हुन् ।

उनले नेपाली समाज विचार र निष्ठाको आधारमा नचलेको बताए । उनले क्षणिक, व्यक्तिगत स्वार्थको निम्ति समाजमा अस्वस्थ प्रतिस्पर्धा हुन थालेको टिप्पणी गरे ।

उनले भनेका छन्, ‘हामीले चाहना त निकै राम्रो राज्य, निकै राम्रो समाज निर्माण गर्ने भनेका छौँ । हामीले कुरा पनि गरेका छौँ । तर हाम्रो दिनदिनैको काम कारबाहीहरु चाहीँ हाम्रो भनाइसँग तालमेल भइराख्या छैन । कहिँ न कहिँ हाम्रो सिस्टमभित्र अहिलेपनि थुप्रै खोटहरु छन् । जसले गर्दा समाज रुपान्तरणको क्रान्तिकारी ढंगले अगाडि जानेतिर होइन अझ बढी दिग्भ्रमतिर, अझबढी विचलनतिर गइराखेको छ र त्यो खतरा दिनप्रतिदिन बढ्दो छ ।’

उनले थप भने, ‘विचारको आधारमा होइन, कुनै निष्ठाको आधारमा होइन, कुनै एउटा महान उद्देश्य राखेर त्यसको निम्ति सर्मपण, त्यागको आधारमा होइन । क्षणिक, व्यक्तिगत स्वार्थको निम्ति अस्वस्थ प्रतिस्पर्धामा हाम्रो समाज गइराखेको भान हुन्छ हामी सबैलाई । त्यसकारण आज हामीले इच्छुकको बारेमा र अरु तमाम सहिदहरुलाई स्मरण गर्दै गर्दा हामीले यो विषयलाई त्यही गम्भिरताको साथ लिन जरुरी छ ।’

उनले फेरि भने, ‘र, हामी एउटा नयाँ अनुसन्धान, नयाँ आविष्कार र नयाँ क्रान्ति, नयाँ अभियानको खोजीमा केन्द्रित हुन जरुरी छ । त्यसरी मात्रै हामीले वर्गलाई, राष्ट्रलाई, समाजलाई हामी केही दिन सक्छौँ । केही नयाँ वातावरण निर्माण गर्न सक्छौँ ।’

त्यस्तै उनले नयाँ खालको अनुसन्धान, आविष्कार र अभियानको खोजीमा केन्द्रित हुन जरुरी रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार