
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले विपन्न तथा असहायहरूलाई काठमाडौंको खुल्ला मञ्चमा खाना खुवाउँदै आएकामा त्यसको विकल्प खोज्नुपर्ने बताएका छन् ।
यसअघि महानगरले खुल्लामञ्चमा खाना खुवाउन नदिने भनेपछि त्यसको व्यापक विरोध भएको थियो ।
महानगरपालिकाले भने यो कार्यले आफ्नो बेइज्जत भएको जिकिर गर्दै आएको छ । सोही कारण खुल्लामञ्चमा नि:शुल्क खाना अभियान रोक्न लागिएको उनको टिप्पणी छ ।
उनले फोहोर, धुलोधुँवा र भिडभाडकाबीच स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूरा नगरी अस्वस्थ र असुरक्षित तरिकाले खाना खुवाएको भनेर गुनासो आएको र आफूहरूले त्यसलाई सम्बोधन गरेको उनको दावी थियो ।
विकल्प खोज्न अनुरोध गर्दै शाक्यले त्यसका लागि आवश्यक सहयोग गर्ने आफूहरू तयार रहेको पनि उल्लेख गरे ।
सार्वजनिक स्थान र सडकमा जथाभावी लाइन लगाएर खाना खुवाउने गरी उनीहरुकै कथा–व्यथा बेचेर काठमाडौं मागीखानेहरुको सहर हो भनी विश्वलाई चिनाउने प्रयास कसैबाट नहोस् भन्ने आफूहरूको चाहाना रहेको उनले बताए ।