
श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी पूर्वी चितवनको खैरहनी नगरपालिका–१० की गीता माझीको मृत्यु भएको छ । गत बिहीबार घरायसी विवादमा श्रीमान रामचन्द्र माझीले कुटपिट गर्दै मलद्वारमा लौरो घुसाउँदा गम्भीर घाइते भएकी गीताको गएराति भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
भरतपुर अस्पतालमा पाँच दिनदेखि उपचाररत गीताको सोमबार अपरेसन गरिएको थियो । भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडलले अपरेसनपछि पोष्टअपमा उपचार हुँदै गर्दा घाइतेको मुटुको चाल अचानक रोकिन पुगी मृत्यु भएको जानकारी दिए ।
घटनामा संलग्न ४० वर्षका रामचन्द्र माझीलाई प्रहरीले बिहिबार नै नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरि अधिकारीले आरोपित विरुद्ध ज्यानमार्ने उद्योग र बलात्कारको मुद्धा दर्ता गरेर अनुसन्धान भएकोमा अहिले पीडितको मृत्यु भइसकेपछि ज्यानसम्बन्धी मुद्धाको प्रक्रिया अघि बढ्ने उनले बताए ।
गीताको उपचारमा संलग्न चिकित्सक दीपेन्द्र न्यौपानेका अनुसार गीताको यौनांगकाे चार तह च्यातिनुकाे साथै कम्मरको हड्डी पनि भाँच्चिएको थियो ।