जेठ ३०, चितवन ।पवित्र तीर्थस्थल देवघाट धाममा रहेको रामजानकी बालिका आश्रममा अहिले ३५ किशोरीले आश्रय लिइरहेका छन् । उनीहरुले आश्रयमात्रै लिएका छैनन् संस्कृत विधाको अध्ययनसँगै वाचक र पण्डित बनिरहेका छन् । त्यहाँ रहेका पाँच किशोरी अहिले वैदिक पूजापाठदेखि भागवत वाचनसम्म गराउन सक्ने भएका छन् ।

केही समयअघि भरतपुर महानगरपालिकाको प्रशासकीय भवन शिलन्यास समारोहमा तिनै किशोरीले वैदिक कर्म गरेर शिलान्यासको शुभारम्भ गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्थ्यो । वैदिक धर्ममा सबैभन्दा ठूलो मानिने अनुष्ठान श्रीमद्भागवत ज्ञान महायज्ञ हो । यिनै किशोरीले देशका विभिन्न २० यस्ता यज्ञ गरिसकेका छन् । अन्य सबै खालका अनुष्ठान र कर्ममा यी किशोरीले काम गर्दै आएका छन् ।
आश्रममा पाँच वर्षदेखि १९ वर्षसम्मका किशोरी छन् । उनीहरु शिशु कक्षादेखि स्नातकसम्म अध्ययनरत छन् । लोककल्याण सेवा प्रतिष्ठानले भरतपुर महानगरपालिका–१ देवघाटमा आश्रम सञ्चालन गरेको छ । आश्रमका अध्यक्ष सावित्री टण्डनको भनाइमा त्यहाँ पाँच किशोरी महायज्ञसम्मका कर्म गर्न सक्षम भएका छन् । वैष्णवी, स्मृति, राधिका, तुलसा र सुनिता यी कर्म गर्न सक्ने भएका हुन् । उनीहरुको नामको पछाडि लोककल्याणकारी राखिएको छ ।बेसाहारा बनेका किशोरीलाई आश्रममा ल्याएर शिक्षादीक्षासँगै हुर्काइएको हो । उनीहरुलाई दिनको समयमा नजिकै रहेको सीताराम संस्कृत माविमा पढाइदै आएको छ । एक जना छोरी वीरेन्द्र बहुमुखी क्याम्पसमा स्नातक पढ्दै आएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार