मानिसले लेख्छ यसकारण कि उ जिउँदै छु भन्ने देखाउन चाहन्छ । मानिसले लेख्छ यसकारण कि उ भित्र कुण्ठा,बेदना,आक्रोस, पिडा,माया, प्रेम सबैछन र तिनैलाई आफ्नो कलमका माध्यमबाट समाजलाई पस्किन चाहन्छ । मानिसले लेख्छ यसकारण कि उ आफुलाई अरूभन्दा भिन्न देखाउन चाहन्छ। मानिसले लेख्छ यसकारण कि उ आफ्नो नासोलाई लिपिबद्ध गरी राष्ट्रका नाममा सुम्पेर मर्न चाहन्छ।

नलेख्नेहरू त कालान्तरमा हराएर जान्छन् नै तर लेखक भने सधै बाँचिरहन्छ। पद प्रतिष्ठा त सबै भूतपुर्व भैहाल्छन् नै तर लेखक कहिल्यै भूपु हुँदैन।त्यसैले त वाङ्गमयको संसारमा हरेकदिन नयाँ नयाँ सर्जकको पदार्पण हुँदै गएको देखिन्छ।यसै श्रृंखलाका एक हुन प्रकाश कोइराला पनि ।

प्रकाशसँग मेरो भौतिकरूपमा परिचय यो आलेख तयार पार्दाको दिनसम्म पनि भएको छैन तर सामाजिक संजालमा भने हामी अत्यन्तै निकट छौं ।

बि एन पुस्तक संसारका भाई सूर्य बिसी को प्रकाशन संस्थाबाट प्रपञ्च प्रकाशित भएको समाचार मैले अमेरिका बसाईकै समय २०७६ फागुनमा पाइसकेको थिएँ । म नेपाल फर्किंना साथ कोभिड संक्रमणका कारण लकडाउनमा बस्नु परेकाले पुस्तक प्राप्त गर्ने अनुकुल समय पाउन सकिनँ । लकडाउन खुलेपछि २०७७ असोजमा सूर्य भाईका हातबाट मेरो घरमै प्राप्त गरेँ जसरी उनीबाट अन्य कृतिहरू पनि प्रकाशित हुँदासाथ प्राप्त गर्ने गर्छु । पाएर पनि समयले मलाई एक महिनासम्म पढ्ने स्वीकृति दिएन । उता प्रकाश भने पुस्तक पढेर प्रतिकृयाको आशामा प्रतिक्षारत थिए । समयले जब मलाई स्वीकृति दियो तब पढदा पढदै पढि सिध्याएको थाहै पाइनँ ।पढदा अत्यन्तै रूचिका साथ पढेँ । लाइन नबिराई पढेँ । कतै अनावश्यक गन्थन छैन। प्रेमै प्रेमको बाढी आएको छ। प्रेमै प्रेमको प्रपञ्च छ। प्रेम सिवाय केहि छैन । चन्द्रकलालाई भगाएर लगेको रात मांढीबजारमा काठको एकतले होटलमा राती हनिमुन मनाउने क्रममा काठको घरमाथिबाट यो जोडीले र तल बाट होटल साहु साहुनीले लचक लचक लचक पार्दा छोरो जागेर बा ! घर भत्किन लाग्यो भागुम भनेको प्रसंग निकै रोचक छ। पूर्व प्रेमिका गौरीले आफ्नो पतिसँग बिदा मागेर भेटन आएका बखत उसैको आग्रहमा यौन इच्छा पुरा गरी उ घर फर्केको र भट्टीवाली साहुनीसँगको लसपसका कुराबाहेक अन्यत्र कतै कुनै लज्जास्पद कुरा छैनन्। प्रेममा धोकाघडी कतैपनि छैन ।

पिता बेदप्रसाद कोइराला र माता हर्क कुमारी कोइरालाका कोखबाट २०४४ सालमा सिन्धुली जिल्लाको गोलन्जोर-६ मा जन्मिएका प्रकाश पेशाले एक माध्यमिक तहमा अध्यापनरत शिक्षक हुन् । उनका यसअघि आरूआरती २०६५,यो देशको नाउँमा २०६६,र जागृती जागरण २०७०,गरी तीनओटा खण्ड काब्य प्रकाशित छन। प्रपञ्च २०७६, उनको प्रथम उपन्यास हो । यो डिमाइ साइज दुइसय सन्ताउन्न पृष्ठमा संरचित छ जसमा पैँसट्ठी अध्याय छन्। उपन्यासको आवरण पृष्ठ रंगीन छ। यसमा न कसैको भूमिका छ न त प्रकाशकीय नै । कृतिको पुछारमा लेखकको भनाइलाई आभार शिर्षकमा राखिएको छ।

कथानकको आरम्भ महोत्तरी जिल्लामा पचास सालमा आएको बाढी पहिरो र रोगब्याधिबाट भइ ,कृतिको मुलपात्र पुण्यप्रसादको तेस्रो बिवाह पनि रामेछापको मन्थली नजिकैको भूस्वर्गराज्यमा पुगेर टुंगिन्छ । उपन्यासको मुलपात्र पुण्यप्रसाद हुन् जो अौँशीको दिनमा जन्मेकाहरूले जोई या पोई टोक्छन भन्ने अन्धबिश्वास पालेको छ र नभन्दै उसका दुई स्वास्नीको मृत्यु पनि भएको छ । सहायक पात्रहरूमा गौरी ,किरण ,चन्द्रकला,नीलिमा अन्जली,रामबाबु शर्मा,बिष्णुमणि,नरसिंह चौहान,तथा रूपनारायण छन्। रामबाबु शर्मा उपन्यासको दुश्चरित्रहो भने प्रधानपञ्च बिष्णुमणि ,नरसिंह चौहान र रूपनारायण रकमि प्रबृत्तिका सामन्ति चरित्र बोकेका ब्यक्ति हुन् । तिनले कसैलाई दण्डसजाय दिनुपर्दा कुटपिट गर्ने,चारपाटा मुंडने,कालोमोसोदल्ने ,जुत्ताकोमाला लगाइदिने,पन्यु तताएर सातठाउँमा डाम्ने,नरक खुवाउने,थुक्ने,र गाउँ निकाला गरि सातडाँडा कटाउने सम्मका सजाय दिने गर्छन्। कथानकको परिवेश रामेछापको भूस्वर्गराज्यलाई छानिएको छ।

यस उपन्यासको शिर्षक बाटै मलाई यो कस्तो शिर्षक हो भनेर कौतुहल जागेको थियो । प्रपञ्च त आखिर प्रपञ्च नै हुन्छ चाहे त्यो भाई-भाईका बिचको अंश बण्डालाई लिएर होस या बृत्ति बिकाशमा । चाहे आँठो सिमानालाई लिएर होस या युद्ध क्षेत्रमा।चाहे प्रेममा होस या घृणामा । प्रकाशको प्रपञ्च चाँहि प्रेम भित्रको प्रपञ्च हो । जहाँ मानिसको उपस्थिति हुन्छ त्यहाँ प्रपञ्च पनि सकृय नै रहेको हुन्छ । पृथ्वीलाई सुन्दर पनि मानिसले नै बनाउँछ।कुरूप पनि मानिसले नै बनाउँछ ।

प्रकाशको प्रपञ्चले कसैलाई क्षति पुर्याएको छैन बरू सबैलाई फाइदा पुर्याएको छ । आफ्नै छात्रालाई प्रेममा पारेर यौनहिंसा गर्ने शिक्षक रामबाबु शर्मा जस्तालाई दण्ड दिलाउन प्रपञ्च सफल भएको छ । बिष्णुमणी उपाध्यायले घनश्याम घिमिरेलाई विज्ञान शिक्षक भर्ना गर्नका लागि चालिएको प्रपञ्च सफल भएकोलछ । नरसिंह चौहानको प्रपञ्चमा परी रूपनारायणको प्रधानपञ्च पद केहि समयका लागि गुम्दछ भने उसको प्रपञ्च भण्डाफोर भएपछी रूपनारायण ले पुन: आफ्नो गुमेको पद प्राप्त गर्दछ ।

किरण,चन्द्रकला र निलिमा गरी तीन तीन वटीसँग बैवाहिक सम्बन्धमा बाँधिन सफल पुण्यप्रसादको प्रेम तारिफ गर्न लायक छ। त्यसैगरी गौरीसँगको उसको प्रेम पनि लोभलाग्दो छ । ती दुईको प्रेम प्रणय सुत्रमा बाँधिएर निर्णायक मोडमा पुग्न नपाए पनि त्यो सूत्र लामो समयसम्म पनि टुटेको छैन । बेदाग त्यो प्रेम अन्तिम समयमा आएर भने चुकेको देखिन्छ । पत्नी बियोगका कारण मदिराको लतमा पुगेको पुण्प्रसाद भट्टी पसल्नी साहुनीसँग पनि लसपसमा पर्न पुगेको छ र धन पैसा त्यसैमा गुमाएको छ । यौनका मामलामा कमजोर पुण्यप्रसाद आफ्नी पुर्व प्रेमिका अञ्जलीको फोटोमा समेत सेक्स गर्न पछी पर्दैन ।

फेरी अर्को बिवाह गर्दैन भनेर अडिग पुण्यप्रसाद अन्तत: छोरी शशिकलाको प्रपञ्चका कारण बिवाह बन्धनमा बाँधिन बाध्य हुन्छ र दुईदशक पछी आफ्नी प्रिय पूर्व प्रेमिका नीलिमा लाई प्राप्त गर्दछ । समय यति बलवान बनिदिन्छ की आफ्नै दुई छोरा निशान र सुशान्तले पनि आफ्नी पूर्व प्रेमीका अञ्जलीका दुई छोरी सुशिला र शर्मिला संग प्रेम विवाह गर्छन । यसरी प्रपञ्चले बिट मार्छ ।

प्रपञ्च बिशुद्ध प्रेममा आधारित उपन्यास हो । यसको भाषा सरल र बोधगम्य छ। पढदा कत्तिपनि पट्यार लाग्दैन । यसपछि के हुन्छ ? भन्ने प्रश्न मनमा जगाई राख्दछ।

प्रतिक्रिया

सम्बन्धित खवर