युवा आख्यानकार सिम्रन क्षेत्रीको उपन्यास `झुमर´ विमोचन भएको छ । झुमरलाई प्रमुख अतिथि एलबी क्षेत्री, समीक्षक भूपिन, लक्ष्मी बराल, सभापति शिरिषा सापकोटा, लेखकका ससुराबुवा इन्द्रजीत पराजुली, हजुरबुवा तुलबहादुर थापालगायतले विमोचन गरेका हुन् ।
सम्पूर्ण किताबको आयोजनामा नारायणी रिसोर्टमा आयोजित कार्यक्रमलाई सम्पूर्ण किताबका संचालक शिरिषा सापकोटाले अध्यक्षता गरेकी थिइन् ।

झुमर नारी कथाबस्तुमा आधारित उपन्यास हो । पुस्तकका बारेमा बोल्दै समीक्षक लक्ष्मी बरालले झुमरमा लेखक क्षेत्रीले नारीसँग सम्बन्धित बिषयबस्तुलाई गम्भीरताका साथ उठान गरेको बताइन् ।

अर्का समीक्षक भूपिनले झुमर नक्कली प्रेमको सक्कली कथा भएको बताए । `प्रेमका अनेक रुप हुन्छन्, अहिलेको प्रेम झन् थरीथरीका हुन्छन् । सिम्रनले आधुनिक प्रेमको कथालाई उपन्यासमा सुन्दर ढंगले सजाएकी छन्´ भूपिनले भने ।

प्रमुख अतिथि एलबी क्षेत्रीले महिलाको अस्तित्व वैवाहिक परम्परा र यौन जीवनसँग जोडिएको बताए । झुमरमा उपन्यास बनोटका सामान्य त्रुटि बाहेक नारी अस्तित्वका विविध आयामलाई बुनिएको क्षेत्रीले बताए ।

कार्यक्रममा विभिन्न व्यक्तिहरूले शुभकामना मन्तव्य पनि राखेका थिए । प्राध्यापक एवम् कवि गायत्री श्रेष्ठ, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, एसओएस बालग्रामका प्रमुख भोलानाथ पौडेलले शुभकामना मन्तव्य राखेका थिए । त्यस्तै रन्जना लिम्बु, सुरज बराकोटी र रुक्मिणी सापकोटाले पाठकका तर्फबाट टिप्पणी राखेका थिए । टिप्पणी राख्दै रन्जना लिम्बुले झुमरको आकर्षक आवरणले पुस्तक सुन्दर देखिएको बताइन् । उपन्यासमा घटनाक्रमको वर्णन राम्रो भएको र महिलालाई आत्मसम्मानका साथ बाँच्नुपर्ने सन्देश दिएको पनि लिम्बुले बताइन् । आगामी दिनमा संघर्षशील महिलाका उदाहरणीय कर्मलाई लेखनमा समेट्न पनि उनले सुझाव दिइन् ।

कार्यक्रममा लेट्सटकका संयोजक आकाश पौडेलले स्वागत मन्तव्य राखेका थिए । मन्तव्यका क्रममा पौडेलले समीक्षक र टिप्पणीकारले लेखकलाई फुर्क्याउने भन्दा पनि उचित सल्लाह सुझाव दिनुपर्नेमा जोड दिए ।

लेखक सिम्रन क्षेत्रीले नयाँ लेखकलाई किताब लेख्न भन्दा पनि प्रकाशन गर्न समस्या रहेको बताउँदै साहित्य क्षेत्रमा यसलाई समस्याको रूपमा राखीरहन नहुने बताइन् ।

पुस्तकलाई एडिबी पब्लिकेसन्सले प्रकाशन गरेको हो । बुलबुल पब्लिकेसन्सले वितरण गरेको पुस्तकको मूल्य ३५०/- छ । कार्यक्रमलाई सञ्चारकर्मी सविता अधिकारीले सहजीकरण गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार