चितवन । इच्छाकामना गाउँपालिकामा शैक्षिक गुणस्तर सुधारका लागि स्वयंसेवक विकास कार्यक्रम सुरुआत भएको छ ।

राष्ट्रिय युवा परिषद्संगको सहकार्यमा गाउँपालिकामा स्वयंसेवक विकास कार्यक्रम सुरु गरिएको हो ।

सार्वजनिक शिक्षा सवलीकरणमा युवा परिचालन गर्ने ध्येयले थालनी गरिएको सो कार्यक्रमको शनिबार इच्छाकामना–४ कुरिनटारस्थित सर्वशान्ति माध्यमिक विद्यालयमा गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले शुभारम्भ गरे ।

उनले स्वयंसेवक विकास कार्यक्रमले स्थानीय युवाहरूलाई आफ्नो गाउँको विद्यालयको शैक्षिक सुधारका लागि भूमिका निर्वाह गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

शैक्षिक गुणस्तर सुधार गर्न राष्ट्रिय युवा परिषद्ले यस कार्यक्रमका लागि इच्छाकामना गाउँपालिकालाई छनोट गरेकामा धन्यवाद दिए । गाउँपालिकाले पनि विद्यालयमा युवा स्वयंसेवक शिक्षकको परिकल्पना गरेको उनले जानकारी दिए।

शिक्षाका लागि पर्याप्त जनशक्ति नभएकाले स्वयंसेवक शिक्षक आवश्यक रहेको उनको भनाइ थियो ।

विशेषगरी शिक्षक बिरामी हुँदा विद्यालयका शिक्षिका सुत्केरी भएको अवस्थामा लामो समय बिदा दिनुपर्ने भएकाले त्यस्तो अवस्थामा स्वयंसेवक शिक्षकले कक्षा सञ्चालन गर्न सकिने जनाइएको छ ।

यस कार्यक्रमले युवाहरूमा स्वयंसेविका बन्ने भावना पैदा हुने, गाउँपालिकाले शिक्षा, स्वास्थ्य र कृषिमा विशेष जोड दिने अध्यक्ष गुरुङले बताए ।

राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख रमाकान्त शर्माले गाउँपालिका भौगोलिक दृष्टिले दुर्गम पहाडी भेग र पिछडिएका समुदायको बसोबास रहेको हुँदा यहाँको शैक्षिक गुणस्तर सुधारमा टेवा पु¥याउन यस कार्यक्रमका लागि इच्छाकामनालाई छनोट गरिएको बताए ।

बेरोजगार युवालाई सामाजिककार्यतर्फ आकर्षण गर्ने पनि कार्यक्रमको उद्देश्य रहेको उनको भनाइ छ । यसरी युवा परिचालन गर्दा उनीहरूमा दक्षता बढ्ने उनको भनाइ छ ।

सो कार्यक्रमअन्तर्गत सहभागी युवाहरूलाई शनिबार नै ५० युवालाई एक दिने अभिमुखीकरण तालिमसमेत दिइएको छ ।

प्रशासकिय प्रमुख शर्माका अनुसार युवाले उक्त तालिमपश्चात आफ्नो टोलको विद्यालयको राम्रा र नराम्रा पक्षको जानकारी लिने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार