चितवन । पूर्वी चितवनको विद्यालय खैरहनी माध्यमिक विद्यालयमा व्यवस्थापन समिति गठनमा सकस देखिएको छ । अघिल्लो व्यवस्थापन समितिको कार्यकाल सकिएको सात महिना बित्न लाग्दासमेत नयाँ समिति गठन हुन सकेको छैन ।
विद्यालय स्रोतका अनुसार दलहरुको खिचातानीका कारण समिति गठनमा समस्या देखिएको हो । प्रमुख तीन दलले समितिमा आफूहरुको नेतृत्व हुनुपर्ने दाबी गर्दै आएका छन् । ‘नगरस्तरीय नेतृत्वबीच पटकपटक छलफल भयो, तर टुङ्गोमा पुग्न सकेको छैन’, एक शिक्षकले भने, ‘समितिमा उनीहरु दलहरुको अध्यक्ष पाउनुपर्ने अडान रह्यो ।’

विद्यालयका प्रधानाध्यापक शम्भूशङ्कर बर्तौलाका अनुसार व्यवस्थापन समिति नहुँदा रिक्त रहेको शिक्षक दरबन्दी पूर्ति गर्न नसक्नुका साथै आर्थिक कारोबारमा समस्या देखिएको छ । समिति नहुँदा खाली रहेको शिक्षक दरबन्दीमा विज्ञापन गर्न नपाइएको, सरूवा गरेर ल्याउन नपाइएको, बजेट परे पनि सम्झौता गर्न नसकिएको र काम गरेको भुक्तानी रकम दिन नसकिएको प्रधानाध्यापक बर्तौलाले बताए । गत २०७८ मंसिर १८ गतेदेखि व्यवस्थापन समितिको कार्यकाल सकिएको थियो।
विद्यालय सञ्चालनमै समस्या देखिएपछि आइतबार अभिभावक भेला गरेर नयाँ समिति चयनको प्रक्रिया सुरू गरिएको छ । जसअनुसार चार जना सदस्यका लागि आवेदन लिने काम भएको छ । चार जनाका लागि ३३ जनाको आवेदन परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार