
काठमाडौँ । सभ्य, सुन्दर र व्यवस्थित सहर निर्माणमा सबै पक्षको सुझाव सङ्कलन गर्ने उद्देश्यले सहरी विकास मन्त्री मेटमणि चौधरीले जनतामा जाने कार्यक्रम सुरु गर्नुभएको छ ।
सहरी विकास मन्त्रालयको आयोजनामा भगवती मा.वि साँखुमा आज आयोजित विद्यार्थीसँग मन्त्री कार्यक्रममा उहाँले “विकास भनेको केवल चिल्ला सडक र ठुला, ठुला भवन मात्रै हैन । यो त संस्कार पनि हो । सबै मिलिजुली बाँच्न पनि हो । एक अर्कालाई सम्मान गर्ने समाज निर्माण गर्ने पनि बताउनुभयो ।’
विभिन्न विद्यालयबाट कार्यक्रममा सहभागी भएका विद्यार्थीहरुले सहरी मन्त्रीसमक्ष व्यवस्थित सहर निर्माणबारे आफ्ना प्रश्न र समाधानका उपाय समेत सुझाएका थिए । विद्यार्थीका सुझावहरु गम्भीरतापूर्वक सुन्नुभएका मन्त्री चौधरीले ‘हामीमा प्रतिवद्धता छैन । प्रतिवद्धताविना कुनै पनि काम सम्पन्न हुदैन । म तपाईँमा भएका प्राकृतिक ज्ञान सुन्न आएको हुँ । तपाईँहरुका सुझाव कार्यान्वयन गर्छु । फोहोरको स्थायी समाधान जसरी पनि गर्ने बताउनुभयो ।’
कार्यक्रमको सहजीकरण गर्दै सहरी विकास मन्त्रीका सचिवालय प्रमुख भूमान्डप के.सी.ले मन्त्रीको चाहना अनुरुप समाजका सबै खाले तह र तप्काका मानिसहरुसँग निरन्तर यसैगरि छलफल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सहरी विकास मन्त्रालयका सहसचिव पद्मकुमार मैनालीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रामचन्द्र दंगालले स्वागत मन्तव्य राख्नुभएको थियो ।