राप्ती नगरपालिकाका पूर्व नगर उप प्रमुख इमानसिंह लामा दीनदुखी तथा दीर्घ रोगीहरुको सेवामा तल्लीन छन् । बिहान देखि बेलुकीसम्म लामा अस्पताल ओहोरदोहोरमै समय व्यतीत गरिरहेका हुन्छन् । आफू नगर उप प्रमुख रहँदा पनि उनको पहिलो प्राथमिकता दीनदुखी तथा दीर्घ रोगीहरु नै थिए । अहिले पनि लामा दैनिकी रुपमा दीर्घ रोगीहरुको सेवामा समय बिताइरहेका छन् ।

सदाको झैँ आज आइतबार पनि उनको मोबाइलमा घण्टी बज्यो । उनले थाहा पाए कि रत्ननगरको बकुलहर अस्पतालमा राप्तीकी एक बिरामी महिला डिस्चार्ज हुने तरखरमा छिन् । तर उनीसँग औषधी र घर आउनको लागि पैसा छैन । पानी परिरहेको थियो । केही समयकै अन्तरालमा उनी अस्पताल पुगे । बिरामी महिलाकी छोरा औषधी लिने लाइनमा थिए । उनी आफै लाइनमा छिरे र अपुग पैसा उनले नै तिरीदिए ।
उक्त बिरामी महिला थिइन् राप्ती-१ पिप्लेमा बस्ने पार्वती परियार । विगत १ बर्ष देखि पाठेघरको समस्याले ग्रसित भएको उनको भर्खर मात्र शल्यक्रिया गरिएको थियो । पार्वतीको उपचारमा पनि लामाले सहयोग गरेको उनको छोराले बताए । “उहाँले सहयोग गर्नुहुन्छ भन्ने थाहा पाएपछि हामीले खबर गर्यौँ । हामीलाई धेरै सहयोग गर्नुभयो ।” उनले भने ।

फार्मेसी अगाडिको प्रतिक्षालयमा अन्दाजी ११ बर्षीय आराधना बिसुन्के आफ्नो ठूलोममिको काखमा सुति रहेकी थिइन् । तीन दिन अघि मात्र एपेन्डिक्सको अपरेसन गरिएको रहेछ । गरिब घर परिवारको उनीको शल्यक्रियाको लागि रकम व्यवस्था गर्न धौ धौ भएको उनको आमा सुकुमाया बिसुन्केले बताइन् । राप्ती-२ घर भएको उनले इमानसिंहलाई राम्ररी चिन्दथिन् । आफ्नो दुखेसो सुनाइन् पनि । उनले तत्काल राप्ती नगरपालिकाको एम्बुलेन्सलाई बोलाए र भाडा आफूले तिरीदिए । यति सहयोगले पनि आफूलाई धेरै राहत मिलेको उनले बताइन् ।

जनताको सेवाको लागि पद नचाहिने लामाले बताए । “मैले पहिले वाचा गरिसकेको छु कि म जनप्रतिनिधि रहुँ वा नरहुँ सधै उहाँहरुको सेवा मै लागिरहने छु ।” उनले भने । वृद्धवृद्धा तथा दीर्घ रोगीहरुको सहयोग गर्दा आफूलाई आनन्द आउने उनले बताए । “सेवा गर्न पद नै चाहिन्छ भन्ने छैन । आफ्नो आत्मसन्तुष्टिको लागि सेवा गर्ने गर्छु ।” उनले भने । लामा उप प्रमुख हुँदा विपन्नलाई घर, नागरिकता विहिनलाई नागरिकता, दीनदुखीलाई खाद्यान्न र दीर्घरोगीलाई अस्पताल पुर्याउने र घर ल्याउने काम गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार