२३ श्रावण २०७९

चितवन । राप्ती नगरपालिका वडा नं. ५ मा भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अब्यबस्थित बसोबासीलाई जग्गाको निस्सा वितरण गरेको छ ।
सोमबार एक औपचारीक कार्यक्रम गरी जग्गा नापी निस्साको लागि नाम दर्ता गराईएका वडा बासीहरुलाई नगरपालिकाबाट प्राप्त भएको जग्गा निस्सा कागज वितरण गरिएको राप्ती ५ का वडा अध्यक्ष सिताराम बलले बताउनुभयो ।

कार्यक्रमका सभाध्यक्ष समेत रहनु भएका बलले राप्ती नगरपालिकाका प्रमुख र उपप्रमुखले बाहिर कार्यक्रमहरुमा राप्तीका केहि वडाहरुले जग्गाको निस्सा वितरण गर्ने कुरामा चासो नदेखाएको भन्ने भ्रम छर्नुभएको तर आफ्नो वडाले पटक पटक निस्सा वितरणको लागि नगरलाई पहल गर्दा समेत जग्गाको निस्सा कागज प्रिन्ट कार्य ढिला गरेको र कार्यक्रममा बाढ्नलाई आधा निस्सा कागज मात्र आएको र बाँकी निस्सा कागज अझै नआएको र आफुहरु वडाबासीले जग्गाको निस्सा मात्र नभएर रातो लालपुर्जा समेत पाउनुपर्छ भन्दै गरेको अवस्थामा काम नै गर्न दिईएन भन्ने हल्ला फैलाउनु आफुहरुलाई पाच्य नभएको भन्दै गुनासाे ब्यक्त गर्नुभयो ।

कार्यक्रममा राप्ती नगरपालिकाका प्रमुख र उपप्रमुखलाई बोलाईएको भए पनि उहाँहरुको उपस्थिति भने नरहेको हो । वडा अध्यक्ष बलले नगरपालिकाबाट पुरै निस्सा नआएकोले ओल्ल घरको श्यामलाई दिँदा, पल्लो घरको रामलाई दिँदा बिच्चको घरको कृष्णलाई नमज्जा लाग्ने भन्दै नगरलाई सबै निस्साको कागज उपलब्ध गराउन पहल गर्नुभयो ।

कार्यक्रममा पूर्व कृषि तथा भुमि मन्त्रि दावा दोर्जे लामाले नेकपा एमालेको सरकारले सबै भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अब्यबस्थित बसोबासीलाई लालपुर्जा दिलाएरै छाड्ने बताउनुभयो । सो प्राप्तीको लागि जस्तो सुकै कदम चाल्न समेत पछि नपर्ने बताउनुभयो ।

अर्का वक्ता एवंम राप्ती नगरपालिकाका संस्थापक उपप्रमुख ईमानसिंह लामाले नेकपा एमालेले सुरुवात गरेको कार्य नेकपाको सरकार ढले संगै गठबन्धनको सरकारले जग्गा नापी कार्य सबै रोकेको र सोको प्रमाणको रुपमा आयोगले पठाएको पत्र देखाउनुहुँदै नेकपा एमालेको सरकारले जग्गाको लालपुर्जा दिन रोकेको भन्ने कुरामा वडाबासीलाई भ्रमित नहुन भन्नुभयो ।

त्यस्तै अर्का कार्यक्रमका वक्ता नेकपा माओवादी केन्द्र राप्ती नगरपालिकाका अध्यक्ष रामचन्द्र पाठकले जग्गाको लालपुर्जा दिने कार्यको श्रेय नेकपा एमालेले मात्र लिएर सबै काम हामिलेनै हो गरेको भनेर बिल्ला भिर्न नहुने बताउनुभयो ।

कार्यक्रममा विभिन्न राजनैतिक व्यक्तित्व, समाजसेवी, संघसंस्थाका पदाधिकारीहरुको आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन वडाका वडा सदस्य गोमा धरेलले गर्नुभएको हाे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार