वर्तमान समाजमा विद्यमान पारिवारिक, सामाजिक, आर्थिक पक्षहरुलाई मनोबैज्ञानिक ढंगले विश्लेषण गरिएको “ग्रिन टावेल ” कथासंग्रह आख्यानकार शान्ति शर्माको दोस्रो कथा संग्रह हो । यस कथासंग्रहमा पृथक पृथक विषयमा लेखिएका १५ ओटा सन्देशमुलक सुन्दर कथाहरु संग्रहित छन् ।

कथामा प्रस्तुत यौन र प्रेमको विषयले कतिपय ठाउँमा रोमाञ्चित बनाउँछ भने कतिपय दु:खान्त र व्यथाको कथाहरु भए पनि मार्मिक र मनछुने छन् । एउटा एउटा कथालाई केलाएर हेर्दा :
१ “आखिर ऊ पनि गई” भ्रूण हत्या विषयक कथा हो । पितृसत्तात्मक सोचले गर्दा एउटी नारीले नै गर्भमा हुर्कँदै गरेेकी अर्की नारीको हत्या गर्ने खेल रची गर्भवती महिलालाई नै झुक्याएर गर्व परिक्षण गर्न लगाएर अन्य कारण देखाउँदै डाक्टर सहितको मिलिमतोमा उसको गर्भ पतन गराउन लाग्दा उसको समेत मृत्यु भएको कारुणिक दु:खान्त कथा हो।

२ “प्रतिशोध” कथाले समाजको यथार्थलाई चित्रण गरेको छ । “बिहे गरेको एक महिनामा नै श्रीमती छोडेर विदेश जाने, विदेश गएर श्रीमतीसंगको सम्पर्क बिस्तारै पातलो बनाउँदै जाने र अन्त्यमा आफ्नो ईच्छा विपरीत परिवारको करले विहे गरेको भन्दै यथार्थ कुरा तिमीलाई भन्नु छ भन्दै स्पष्ट कारण नदिई मैले यतै अर्को बिहे गरेँ तिमी आफ्नो सुर गर भनेर छोडिदिने अनि केटीले चाहिँ सासू ससुरा फकाएर सम्पति आफ्नो नाममा पारेर अनि ‘पर्खी न तँ विदेशबाट एक पटक त घर आइज न अनि मैले जानेको छु’ भन्दै प्रतिशोधको भाव मनमा लिएर बस्ने ।” समाजमा यस्ता घटनाहरु प्रसस्तै घटेका छन् । कथाले समाजको यो किसिमको प्रवृत्तिको अन्त्य हुनु पर्ने सन्देश दिएको छ ।

शेखरबाट धोका पाएकी ललिताले कानूनी बाटो समातेर आफू बलियो बनेर आफ्नो जीन्दगीसंग खेल्ने धोकेवाजसंग बदला लिएरै छोड्ने प्रतिशोधको भावना लिएर बस्नुले “नारी पनि कमजोर छैनन् है” भन्ने कुरालाई प्रस्ट पार्दछ ।

त्यस्तै
१४ “भत्किएको संसार” कथामा श्रीमान बिदेश गएको बेला अर्कैसंग मोज मस्तीमा भुलेर श्रीमतीले धोका दिएकी छन् ।
यी दुई कथाबाट बुझिन्छ कि
सबै केटा खराब पनि छैनन् र सबै केटी असल पनि छैनन् । यो हाम्रो समाजको यधार्थ चित्रण हो ।

३ “दोस्रो लोग्ने ”
यस कथामा एकजनासंग प्रेम र अर्कोसंग बिबाह हुँदा र बिबाहपछि श्रीमान श्रीमतीले आफ्नो एकअर्काप्रतिको दायित्व पुरा नगर्दा उत्पन्न हुने तनाव र
त्यसको परिणाम देखाइएको छ ।
सुरक्षा र आलोक बिच पवित्र प्रेम थियो तर परिवारले सुरक्षाको बिबाह
सम्राटसंग गरिदिएपछि र सम्राटले श्रीमतीप्रतिको आफ्नो दायित्व पुरा नगरेपछि सुरक्षाले आफ्नो पुर्व प्रेमीलाई नै दोस्रो लोग्नेको रुपमा स्वीकारेर घर परिवार छोडी भागेकी छ ।
यसबाट बुझ्नुपर्ने कुरा जिन्दगी काट्ने केटा र केटीले हो परिवारले बिबाह गरिदिँदा उनिहरुको रोजाईलाई बुझिदिनु पर्छ ।
मन छोएको एक वाक्य -“के बिहे गरेर ल्याएर कोठामा थन्क्याएर मात्र श्रीमानको दायित्व पुरा हुन्छ र ?”

४ “मनकली”
अशिक्षा र अन्धविश्वासले अझै पनि कति अवला नारीले समाजबाट सास्ती भोग्नु परिरहेको छ भन्ने कुरा यस कथाले देखाएको छ ।

५ ” ग्रिन टावेल ”
गुरु शिष्य बिचको पवित्र प्रेमको कथा हो ।

६ “कोख”
पति पत्नी बिचमा हुनुपर्ने प्रेम देखाइएको मनछुने प्रेम कथा हो ।
पत्निको कोख बाँझो हुँदा घर परिवार आफन्त र साथिहरुले दोस्रो बिहे गर्न दवाव दिँदा र श्रीमतीले समेत दोस्रो बिहे गर्न आग्रह गर्दा श्रीमानले भनेको एक वाक्यले मन छोयो ” ए ! यदि मेरो कारणले सन्तान नभएको भए के तिमी अर्को बिहे गर्थ्यौ र स्वरुपा ?” सन्तानको विकल्पमा टेष्ट ट्युब बेबीको अवधारणाले समाजलाई आधुनिक बैज्ञानिक युगले छोएको कुरा बुझ्न सकिन्छ ।

७ ” मोह ”
जातियताको बिरुद्धमा लेखिएको कथा हो । समाज जति नै शिक्षित भएपनि उनिहरुको शिक्षा भाषणमा मात्र शिमित रह्यो । ब्यबहारमा अझै पनि जातिय छुवाछुतको अन्त्य हुन सकेको छैन ।

८ “पर्खाल ”
श्रीमान बित्दा श्रीमतीलाई अनेकथरी भनेर कुरा काट्ने र श्रीमती बितेको तेह्र दिन नपुग्दै दोस्रो बिहे गर हामी केटी खोजिदिन्छौँ भन्दै जाने समाजको यो महिला र पुरुषमाथि गरिएको बिभेदकारी कुरालाई यस कथाले उठाएको छ । ” शंकरलाई भनेजसरी ‘सम्पदा, तिम्रो जीवन तिम्रो अधिकार’ भनेर किन भन्न सक्दैन यो समाजले ?”

९ “पीडक पत्नी ”
गज्जवको कथा । पत्नीहरु कतिसम्म पिडित भएका रहेछन् भन्ने कुरालाई स्पस्ट बुझाउन यहाँ पुरुष पात्रलाई पिडित बनाइएको छ तर बास्तबमा यो कथामा पतीले पत्नीबाट जे जे पिडा भोगिरहेको छ यो सबै आम पत्नीहरुले भोगिरहेको पिडा हो । यो कथा पढिसकेपछि हरेक पुरुषले महसुस गर्नेछन् कि हामी पतीहरुलेे आफ्ना पत्नीलाई कति सम्मको पिडा दिएका रहेछौँ भनेर ।

१० ” प्रेमातङ्क ” विवाहको लागि आफ्नो प्रेमीको प्रतिक्षामा बसेकी प्रेमिकाको मनोदशा बुझ्न नसक्ने कठोर मन भएको पुरुषको चित्रण यस कथामा गरिएको छ ।

११ “सहयात्रा ”
प्रतिक्रिया दिने शव्द नै भेटिन बस् यति भनेँ मन छोयो । यस कथाको कथा बुनोट साह्रै मन पर्यो ।

१२ ” सम्वन्धसूत्र ”
“कुनै मान्छे त यस संसारमा कहिल्यै नदेखेको भए पनि देखेको जस्तो लाग्ने नबोले पनि बोले जस्तो लाग्ने अनि पराई भए पनि आफ्नैे जस्तो लाग्ने ।”
सुन्दर कथा ।

१३ “कोभिड -१९”
बर्तमानको विद्यमान समस्या, गरिवी र आर्थिक पाटोलाई चित्रण गरिएको मार्मिक कथा ।

१५ ” पछुतो ”
बृद्ध आमालाई बृद्धाश्रम पुर्याएकोमा पछुतो मानेको यस कथा बृद्धबृद्धा बा आमाको हितमा लेखिएको छ । आशा छ यो कथा पढिसकेपछि कुनै पनि छोराछोरीको आफ्ना बाआमाप्रति मायाँ पलाउने छ ।

कलात्मक कथा बनोट, मीठो र सरल भाषाशैलीले सामान्य पाठकले पनि सजिलै बुझ्ने र मन छुने खालको बनेको छ पुस्तक ।
कुनै कुनै कथा पढ्दा कथा अझै नसकिएको हो कि भन्ने भान हुन्छ ।
“प्रतिशोध” कथामा ललितालाई शेखरले छोड्नुको खास कारण के थियो ? भन्छु भन्दा भन्दै पनि नभनेरै कथा अन्त्य भएको छ ।

“दोस्रो लोग्ने” कथामा बिदेश गएको लोग्नेले आफूलाई बास्ता गरेन मेरो मनोदशा बुझेन भन्दै ऊ आइञ्जेल कुर्न नसकी मायाँ नै गरिरहेका सासू ससूरालाई पनि थाहा नदिई धोका दिएर भाग्नु केटीको कमजोरी हो । यसमा उसले दोस्रो बिहे गर्नुपर्ने बलियो कारण देखिएन ।
“प्रेमातङ्कमा प्रेमीले प्रेमीकालाई बिबाह गर्न किन सकेन ? आखिर प्रेम त दुवैले गरेका थिए नि पहिला ।
कोभिड- १९ मा बुधेको मृत्युको कारण के होला ?
कथा पढिसकेपछि पनि मनमा यी कुराहरुको खुल्दुली भइरहयो ।

जे होस् ,नेपाली साहित्यमा यति सुन्दर पुस्तक पस्कनुभएकोमा आख्यानकार शान्ति शर्मा ज्यूलाई धेरै धेरै बधाई तथा कृति सफलताको शुभकामना । यहाँका आगामी कृतिहरु पनि समाजले अझै परिमार्जित र परिस्कृत रुपमा पाइरहोस् । शुभकामना ।

कथासंग्रह – ग्रिन टावेल
लेखक – शान्ति शर्मा
प्रकाशक – शिखा बुक्स
पृष्ठ संख्या – १७८
मुल्य – रु. ३००
समीक्षक – नानी बिवु, दुराडाँडा लमजुङ हाल गैंडाकोट नवलपुर ।

प्रतिक्रिया

सम्बन्धित खवर