
देवघाट । साउनको अन्तिम सोमबार पवित्र धार्मिक स्थल देवघाटमा भक्तजनको घुइँचो लागेको छ । यस पटक साउनमा पाँच वटा सोमबार परेका थिए । त्रिशुली र कालीगण्डकीको संगम स्थल देवघाटमा स्नान गर्ने र शिव मन्दिरमा पूजा गर्ने भक्तजनको भीड लागेको हो ।
भगवान् शिवको व्रत बसेका भक्तजन बिहान ४ बजेदेखि नै देवघाट जाने/आउने गर्न थालेका हुन् । स्नान गर्न जाने क्रम जारी छ । साउन महिनाको सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।