
भरतपुर । स्थानीय तहको निर्वाचन भएको तीन महिना भइसक्दा पनि चितवनका एक हजार ५३९ जना उमेदवारले खर्च विवरण बुझाएका छैनन् । हालसम्म ४११ उमेदवारले मात्रै खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका छन् ।
निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको मितिले ३० दिनभित्र उमेदवारले खर्चको बिल भर्पाई निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने कानुनी व्यवस्था छ ।
वैशाख ३० मा भएको निर्वाचनमा सबैभन्दा ढिलो भरतपुर महानगरको अन्तिम मतपरिणाम जेठ १० गते सार्वजनिक भएको थियो । भरतपुरको मतपरिणाम सार्वजनिक भएको पनि दुई महिना २० दिन भइसकेको छ । पालिकाको मेयर, उपमेयरमा निर्वाचित जनप्रतिनिधिले नै चुनावी खर्च बुझाएका छैनन् । जिल्लाका सात स्थानीय तहमा एक हजार ९५० जनाले उमेदवारी दिएका थिए ।