सुरोज बराकोटी-                                                      राप्ती, भदौ २८ । राप्ती नगरपालिकाको मुटु भनेर चिनिने भण्डारा बजारमा ट्राफिक सांकेतिक बोर्ड राखिएको छ । सवारी साधनको अव्यवस्थित पार्किङ भइरहने बजारका लागि राप्ती नगरपालिकाले ३८ वटा भन्दा बढी बोर्ड बनाएको छ ।

मुख्यगरि पार्किङ व्यवस्थापन गर्ने उद्देश्य सहित बोर्ड राख्ने काम भएको हो । भण्डारा बजारबाट उत्तरतर्फ पर्ने चेपाङ मार्गलाई लक्षित गरेर पनि बोर्डहरुको निर्माण भएको छ । राप्ती नगरपालिकाको पहाडी वडाहरु ११,१२ र १३ को लागि लाग्ने बस सहित साँघुरो सडकको कारण बजारको सवारी व्यवस्थापन अस्तव्यस्त रहेको थियो ।

यो बोर्डहरु राखिदैँ गर्दा यस क्षेत्रको सवारी साधनको पार्किङमा व्यवस्थापन हुने विश्वास लिइएको छ । राप्ती नगर प्रमुख शमशेर लामाले ट्राफिक सांकेतिक बोर्डले बजार व्यवस्थापनमा सघाउ हुने बताउनुभयो । यस कार्यले सडक दुर्घटना न्युनीकरण हुनेमा आफू विश्वस्त रहेको पनि उहाँ बताउनुभएको छ ।

ट्राफिक व्यवस्थापन अन्तर्गत पार्किङ रहने ईलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक कुमार गुरुङले बताउनुभयो । विशेषगरि दुइ चक्के र चार चक्के सवारी साधनको पार्किङ व्यवस्थापनको लागि बोर्डहरु राखिएको उहाँले बताउनुभयो । “सवारी साधनहरुको आवातजावत र पैदल यात्रुहरुलाई असर नपर्ने गरि कहाँ पार्क गर्न सहज हुन्छ भन्ने हिसाबले व्यवस्थापन गर्ने पक्ष पार्किङ व्यवस्थापन हो । यही अनुसार हामीले पहिलो चरणको काम सुरु गरेका छौँ ।” उहाँले बताउनुभयो ।

यससँगै भण्डारा बजारमा एक साइड पार्किङको नियम लागू गरिएको छ । यसले सडक व्यवस्थापनमा ठूलो भूमिका खेल्ने अनुमान गरिएको छ । साँघुरो सडकमा अव्यवस्थित सवारी पार्किङ हुँदा पैदल यात्रीहरुलाई हिँडडुल गर्न असहज भएको थियो । पार्किङको नियमन भण्डारा ट्राफिकले गर्नेछ ।

भण्डारा टोल विकास संस्था र भण्डारा बजार युवा समाज बारम्बार भण्डारा बजार व्यवस्थापनको लागि कसरत गर्दै अगाडि बढिरहेको थियो । टोल विकास संस्थाका अध्यक्ष हिरा श्रेष्ठले यस कार्य गरेकोमा नगरपालिकालाई धन्यवाद व्यक्त गर्नुभएको छ । योसँगै भण्डाराका व्यवसायीहरुमा उत्साह पनि थपिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार