चितवन । चाडपर्व नजिकिदै गर्दा जिल्ला प्रहरी कार्यालय चितवनले चाडपर्व लक्षित विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । दसैँ तिहार र छठ पर्वलाई लक्षित गरि सो योजना सार्वजनिक गरिएको हो । उक्त योजनामा डकैती, लुटपाट, चोरी, सवारी दुर्घटना, मादक पदार्थ सेवन गरी हो हल्ला तथा झै-झगडा, गुण्डागर्दी जस्ता अपराधिक गतिविधि नियन्त्रण गर्ने जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले आउँदै गरेको चाडपर्वमा नागरिकको सुरक्षाका लागि जिल्ला भरिमा ७०० बढि सुरक्षाकर्मी खटाईने बताउनुभयो । उहाँले विशेष योजनाअन्तर्गत १४६ जनशक्ति खटाइने र जसमा क्युआरटी परिचालनमा २८, अस्पताल रेस्क्यु टिममा ४, ट्राफिक र कुकुर सहितको संयुक्त चेकजाँचमा १२, सीमा नाकामा चोरीसिकारी नियन्त्रण गर्न ४, मोबाइल गस्तीमा ११, पैदल गस्तीमा ८, पिकेट ड्युटीमा ३१ र राजमार्ग स्कर्टिङ तथा बेसमा ५ जनशक्ति खटाइने भएको छ ।

साथै, जिल्लाका ४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिने, बैंक तथा वित्तीय संस्था र सुनचाँदीको कारोबार हुने स्थानमा ८, बजार अनुगमनमा २, सादा पोसाकमा ९ कर्डन एण्ड सर्चमा १, एम्बुसमा ४, मापसे चेकिङसहित नियमित चेक प्वाइन्टमा ४ र लामो दूरीका गाडीमा विशेष चेकिङ गर्न ७ जना सुरक्षाकर्मी खटाउने जिल्ला प्रहरी कार्यालयको योजना रहेकोछ । साथै अधिकारीले अवैध घरेलु मदिरा नियन्त्रणका लागि पनि प्रहरी परिचालन गरिने बताउनुभयो ।

लामो दूरीमा चल्ने सवारी साधनहरुमा प्रहरी परिचालन समेत गरिनेछ । प्रहरीले योजना सफल पार्नका लागि घरदैलो कार्यक्रम, टोल सुधार समिति सँग समन्वय गरी स्थानीय तहसँग सहकार्य, पर्चा-पम्प्लेट तथा चाडपर्व सुरक्षा जनचेतनामुलक जिंगलको माध्यमबाट प्रचारप्रसार र सामाजिक सञ्जाल तथा सञ्चार माध्यम बाट सचेतनाका कार्यक्रम सञ्चालन गर्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार