राप्ती, भदौ ३० । राप्ती नगरपालिका-२ स्थित परेवाश्वरी दुग्ध उत्पादक सहकारी संस्था अहिले चुनावको संघारमा रहेको छ । नयाँ कार्यसमिति चयन अन्तर्गत यही असोज १ गते संस्थाको निर्वाचन हुन गइरहेको छ ।

निर्वाचन हुन ३६ घण्टा मात्र बाँकी रहँदा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन उप समिति संयोजक शैलेन्द्र भण्डारीले बताउनुभयो । सर्वसहमतिबाट समिति चयन हुन नसकेपछि चुनाव गर्नुपरेको उहाँले बताउनुभएको छ ।

निर्वाचनको तालिका अनुसार सबै काम भइसकेको छ । अहिले मतदान स्थल सम्याउने काम भइरहेको छ । शुक्रबार बुथ राख्ने काम हुनेछ । मतदान स्थलमा ३ वटा बुथ राखिने पनि भण्डारीले बताउनुभएको छ । सुरक्षामा ईलाका प्रहरी कार्यालय भण्डाराको समन्वय रहनेछ ।

संस्थाको १ हजार ३ सय ७५ शेयर सदस्य रहेका छन् । शेयर सदस्यहरु राप्ती-१, २, ३, ४, र ५ वडाबाट रहेको निर्वाचन उपसमिति सदस्य डाल बहादुर श्रेष्ठले बताउनुभयो । मतदान बिहान ८ बजेबाट २ बजेसम्म रहने पनि उहाँले बताउनु भएको छ ।

संस्थाको कार्यसमितिको लागि दुई प्यानल बनाएर उम्मेदवारहरु चुनावी मैदानमा होमिएका छन् । एमाले र काँग्रेस तालमेल भइ रामेश्वर सिंह ओलीलाई अध्यक्षमा अगाडि सारेको छ भने नेकपा माओवादी केन्द्र र समाजवादीबाट रामजी कँडेलले उम्मेदवारी दिएका छन् । ओली संस्थाका पूर्व अध्यक्ष हुन् भने कँडेलले दुई कार्यकाल संस्थाको उपाध्यक्ष भएर काम गरिसकेका छन् ।

रामेश्वरसिंह ओलीले कोभिडका कारण योजनाअनुसार काम गर्न नपाएको भन्दै ती कामहरु पूरा गर्न र सहकारीको सर्वाङ्गीण विकासका लागि उमेदवार बनेको बताउनु भएको छ ।

अध्यक्षका अर्का उमेदवार रामजी कँडेलले आफूले दुई कार्यकाल निस्वार्थ भावनाका साथ किसानको हितमा काम गरेको र किसानकै मागअनुसार उमेदवारी दिएको प्रतिक्रिया दिनुभयो ।

निर्वाचन उपसमिति सदस्यमा जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको प्रतिनिधि डाल बहादुर श्रेष्ठ र सम्बन्धित दुग्ध उत्पादक सहकारी संस्थाको प्रतिनिधि गिता बर्तौला रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार