
राप्ती । पूर्वी चितवनका थारु समुदायले यमोसा (पितृ औंसी) पर्व मनाएका छन् । दिवंगत भएका आफन्त तथा पितृहरुको सम्झनामा यो पर्व हरेक वर्ष मनाउने गरिन्छ ।
यमोसा पर्व दुई दिनसम्म मनाईने गरिन्छ । सोह्र श्राद्ध सकिने औंसीका दिनमा थारु समुदायले यमोसा मनाउने परम्परा रहि आएको छ ।
यमोसा पर्वको अघिल्लो दिन पर्वका लागि तयारीहरु गरिन्छ । थारु समुदायका मानिस अघिल्लो दिनलाई मछुवारी भन्छन् । मछुवारीको दिनमा यमोसामा खाने माछाको जोहो गर्न गाउँ, टोलका मानिस सामूहिक रुपमा खोला, नदी, पोखरी, तालमा गएर माछा मारेर ल्याउने गरिन्छ ।
यमोसाको दिन बिहानै खोला, नदी क्षेत्रको वनमा गएर दाभी (सिरु) काटेर घर ल्याईन्छ । सिरुलाई केलाएर, सुकेका पात तथा सिरु हटाईन्छ । सिरुलाई धोएर एक हात लम्बाईको बनाएर काटिन्छ । काटिएको सिरुलाई मुठा बनाएर पितृको रुपमा स्थापना गर्ने प्रचलन छ । गाईको गोबरले लिपपोत गरेर पिर्का, कुर्सीमा सिरुको मुठालाई ठड्याएर पितृ स्थापना गरिन्छ । पितृ स्थापना गरेपछि फूलले सजाउने, ल्वाङ, सुकुमेल, पान, सुपारी, चुरोट, रक्सी, दुध, पानी लगायतका खाद्यपदार्थहरु राखेर अर्पण गरिन्छ । घरका सबै सदस्यले पुजा गर्ने र पितृलाई पुज्ने गरिन्छ ।
यमोसा चितवन र नवलपुरमा बसोबास गर्ने थारु समुदायले मनाउँदै आएका छन् । यमोसाको दिन पितृको पूजा गरेर माछा, मासु लगायतका परिकारहरु तयार गरिन्छ । घरमा पहुना, पहुनी (अतिथी) लाई बोलाएर घरमा तयार गरिएको खानेकुरा खुवाईपछि मात्रै घरका सदस्यले खान्छन् । घरमा आएका पहुना, पहुनीलाई यमोसा खुवाएपछि कपालमा तेल लगाईदिने, कपाल कोरिदिने र फुल लगाईदिने गरिन्छ ।
पहुनाको विदाईको समयमा ‘मोर पितृ, पितराइन सितरे सितरे जही हे’ (पितृलाई शितलता मिलोस्) भनेर कामना गर्ने प्रचलन रहेको छ । पहुनालाई बिदाई गर्दा नाङ्लोको पछाडी पानीले भिजाएर हम्किएर बिदा गरिन्छ । यस दिन बालबालिका तथा महिलाहरु समूहमा जम्मा भएर बेलुकी घरहरुमा गई गीत गाउँदै यमोसा खाने चलन पनि रहेको छ । सबैको घरमा गएर पकाएको खानेकुरा थोरै थोरै भएपनि खाने प्रचलन रहेको छ ।