राप्ती, असोज २५ । पिप्ले युवा समाजले आयोजना गर्न लागेको प्रथम बागमती प्रदेश मुख्यमन्त्री कप स्थगित भएको छ । राप्ती नगरपालिका १ स्थित युवा समाजको खेलमैदानमा आयोजना हुन लागेको प्रतियोगिता निर्वाचन आचारसंहिताको कारण स्थगित गर्न जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख आस्मान तामाङले आदेश दिएका आयोजकले जनाएको छ ।

मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि भदौ १३ गते देखि आचारसंहिता लागू भइसकेको छ । यही २८ गतेबाट नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा सञ्चालन हुन गइरहेको छ । तर मुख्यमन्त्री कप सञ्चालन हुन रोक लगाइएको छ । नेपाल राजपत्रमा उल्लेख भए अनुसार परिच्छेद १ अन्तर्गत धारा ३ क‍ो उपधारा ख) को अनुसार प्रदेश सरकार र प्रदेश सरकारको मन्त्रीलाई आचारसंहिता लागू हुन्छ । बागमती प्रदेश मुख्यमन्त्री कप भएकोले प्रतियोगितालाई आचारसंहिताले प्रभाव पारेको बुझ्न सकिन्छ ।

असोज २१ देखि आयोजना हुने भनिएको खेल अविरल बर्षाका कारण २५ गतेलाई सारिएको थियो । प्रतियोगिताको लागि सम्पूर्ण तयारी सकिएर उद्घाटन समारोहको तरखर गर्दागर्दै खेल रोकिएको छ । मैदानमा प्याराफिटको निर्माण सहित मैदान वरपर बार लगाउने काम गरिएको थियो । सुरक्षाको लागि सशस्त्र र सेक्युरिटी गार्डहरु तैनाथ थिए, दर्शकहरु खेल हेर्न उत्सुक भैरहेका थिए । सञ्चारमाध्यमबाट प्रतियोगिता बारे जानकारी पनि गराइएको थियो तर प्रतियोगिता सञ्चालन भएन ।

प्रतियोगिता प्रारम्भ हुने बेला अकस्मात स्थगनको कुरा आएको स्थानीय व्यवसायी प्रेम कार्कीले बताए । “हामी त बिहानबाट खेलको प्रतिक्षामा थियौँ । खेल संयोजकले खेल स्थगित भएको जानकारी पो गराउनुभयो ।” उनले भने ।

अर्को सुचना नआउन्जेललाई खेल स्थगित गरिएको कार्यक्रम संयोजक चिरन पाठकले बताए । “समय नै यस्तो पर्यो, प्रशासनबाट चुनाव अघि खेल नगराउनु भन्ने आदेश आयो ।” उनले भने “सिडिओ साबले मंसिर १० अघि कुनै खेल नगराउनु भन्ने निर्देशन दिनुभयो ।”
प्रथम पुरस्कार ३ लाख नगद सहितको प्रतियोगिता आयोजना गरिएको थियो । यस्तै द्वितीय हुनेलाई १ लाख ५० हजार नगद घोषणा गरिएको थियो । प्रतियोगितामा बागमती प्रदेश, गण्डकी प्रदेश र मधेस प्रदेशका उत्कृष्ट १६ वटा टीमहरुबीच प्रतिस्पर्धा गरिने आयोजक समितिले जनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार