खैरहनी, पौष ७ । चितवनको खैरहनी नगरपालिकामा बागमती प्रादेशिक एवम् दोश्रो खैरहनी महोत्सव आयोजना हुने भएको छ । खैरहनी-२ स्थित लदरी खोलाको किनारमा माघ ४ गते देखि १५ गतेसम्म महोत्सव आयोजना हुने भएको हो । खैरहनी उद्योग वाणिज्य संघ आज बिहीबार पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिएको हो ।

महोत्सव प्रदेश भित्रको उद्योग व्यापार क्षेत्रको प्रवर्द्धन गरी आर्थिक विकाशमा टेवा पुर्‍याउने उद्देश्यले आयोजना गर्न लागिएको हो । महोत्सवमा उद्योग, व्यापार, कृषि, सूचना प्रविधि, पर्यटन, अटोमोबाइल्स, होटल, शैक्षिक संस्था, सरकारी, गैरसरकारी संस्था, महिला उद्यमीका उत्पादन तथा सेवा गरी ३५० वटा स्टल रहनेछन् । त्यस्तै महोत्सव अवधिभर छलफल, अन्तरक्रिया, गोष्ठी तथा प्रतियोगितात्मक कार्यक्रमहरु, स्वास्थ्य, तथा शैक्षिक कार्यक्रमहरुको पनि आयोजना गरिने आयोजकको भनाइ छ ।

महोत्सवको विशेष आकर्षणको रुपमा विभिन्न जनजातिहरुको स्थानीय भेषभुषामा सांस्कृतिक कार्यक्रमका साथै स्थानीय एवम् राष्ट्रिय कलाकारहरुको प्रस्तुतिहरु रहनेछन्। युवाहरुको लागि अम्ब्रेला स्ट्रीट र बालबालिकाहरुको मनोरञ्जनका लागि बाल उद्यानको समेत व्यवस्था गरिने छ।

महोत्सव करिव ३ लाख अवलोकनकर्ताले अवलोकन गर्ने अनुमान गरिएको आयोजकको दावी छ। उक्त महोत्सव सम्पन्न गर्न करिव एक करोड २० लाख लागत लाग्ने साथै करिव ७० करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार