पुस १७ गते ।  खैरहनी नगरपालिका ८  स्थित उत्प्रेरणा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दशौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभाले ०७९ माघ १ गते देखि लागु हुने गरि पेमेन्ट स्लिप (चेक) खातामा रकम नभई पेमेन्ट स्लिप(चेक) आएमा रू ५० रूपैयाँसम्म कट्टा गरि सो रकम जगेडा कोषमा जम्मा गर्ने प्रस्ताव पारित गरेको छ । साथै उत्प्रेरणा राहत कोष स्थापना गर्ने, उद्योगी रणनीतिक योजनाको निर्माण गर्ने  संस्थाका ब्यबस्थापक सुजाता खनालले जानकारि दिइन ।  २०७०/०७१ आर्थिक वर्षमा स्थापना भएको उक्त संस्थाले छोटो समयमा वित्तीय सूचांकमा उल्लेख्य सफलता हासिल गर्न सकेको संस्थाका कार्यकारी निर्देशक उत्तम अधिकारीले बताए ।  संस्थामा स्थानीय समुदायका प्रतिष्ठित ब्यापारी,किसान, बैंक बित्तिय  संस्थाहरूमा पहुँच नपुग्ने ब्यक्तिहरूको सहभागिता रहेको भन्दै निर्देशक अधिकारीले सदस्यहरूकै विश्वासका कारण आर्थिक मन्दी र असहज बित्तीय परिस्थितिमा पनि संस्थाले वित्तीय सूचांकहरूमा छलाङ मार्न सकेको जनाए ।
सदस्यलाई दिने प्रतिफल र बचत गर्ने सदस्यलाइ दिने ब्याजको अन्तरबाट नाफा मात्र कमाउने उदेश्य संस्थाले नराखेको भन्दै उनले न्यून स्प्रेड दरमा सदस्यहरूलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको  बताए । सहकारीलाई नाफा कमाउने भन्दा पनि एउटा साझा मञ्च बनाउने अभिप्राय रहेको जनाउँदै उनले समुदायका सबै वर्गलाइ समेटेर अगाडि बढ्ने उल्लेख गरे ।
चालु आ.व. २०७९/०८० को प्रस्तावित कार्यक्रम प्रस्तुत गर्दै उनले नियमनकारी निकायबाट प्राप्त निर्देशनहरू पूर्ण पालना गर्ने, सदस्यलाइ केन्द्रमा राखेर कारोबार गर्ने, संस्थामा आवद्ध सबैका लागि शिक्षा तथा तालिमको आयोजना गर्ने, ऋणीको बीमा गर्ने बारेमा अध्ययन गर्ने, नियमित बचतकर्ता र समयमा ऋण चुक्ता गर्ने सदस्यलाई संरक्षित पूँजी फिर्ताकोषको रकम फिर्ता गर्ने , प्रविधिमा आधारित सेवाहरू थप गर्दै जाने, अल्पकालिन र दीर्घकालिन रणनीति निर्माण गरी लागु गर्ने तथा मोबाइल एप्स निर्माण गरी स्मार्ट सहकारीको अवधारणा ल्याउने बताए ।  संस्थाका अध्यक्ष कृष्ण प्रसाद अधिकारीको अध्यक्षतामा, खैरहनी नगरपालिकाका उप-प्रमुख कविता उप्रेतीको प्रमुख आतिथ्यता,खैरहनी-८ वडाका अध्यक्ष शंकर कडेल,खैरहनी चेम्बर अफ कमर्सका अध्यक्ष प्रकाश श्रेष्ठको विशिष्ट आतिथ्यता एवं अतिथिहरूमा खैरहनी मा.वि जन्मोत्सव तथा स्मृति अक्षय कोषका संयोजक मुरलि प्रसाद गजुरेल लगायतले मन्तव्य राखेका थिए ।
सो अवसरमा आर्थिक विवरण ०७८/०७९ को प्रस्तावित वित्तीय लक्ष्य तथा बजेट कोषाध्यक्ष रामचन्द्र कोईरालाले तथा  प्रगति विवरण तथा ०७९/०८० को भावी कार्य योजनाहरू सचिब नारायण प्रसाद महतोले प्रस्तुत गरेका थिए ।सभामा लेखा सुपरीवेक्षण समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै संयोजक  सपना रानाले सहकारी विभागले कुल ऋणको ५१ प्रतिशत उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था गरेकाले सोही अनुरूप लगानी गर्न र बिना धितोको ऋण लगानीलाई पूर्ण रूपमा बन्द गर्न सुझाव दिएका थिए । सभामा उल्लेख्य सदस्यहरूको सहभागिता रहेको थियो भने असल ऋणी ३ र उत्कृष्ट ३ निक्षेप कर्तालाई कदर पत्र सहित सम्मान गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार