राप्ती, पौष २५ । चितवनको राप्ती नगरपालिकामा रहेको जनमुखी बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २२ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

योसँगै संस्थाले आगामी नीति तथा योजनाहरु निर्माण गरेको छ । संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको अध्यक्ष पूर्ण बहादुर थापाले दुधको साथै तरकारी तथा खाद्यान्न उत्पादक किसानहरुलाई संस्थाको शेयर सदस्यता प्रदान गर्दै सहकारीमा संगठित गरि सहकारीताको भावनामा विकास गरिने बताए ।

दुग्ध उत्पादन लागत घटाउन घाँसमा आधारित पशुपालनमा जोड दिइने उनले बताए । विभिन्न तालिम, गोष्ठी, क्षमता अभिवृद्धि तथा चेतनामूलक कार्यलाई निरन्तरता दिइने थापाले बताएका छन् । आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै थापाले पशुधन सुरक्षणको निम्ति सबैमा चेतना वृद्धि गरिने बताए । “पशुधन सुरक्षको लागि संस्थाले शिखर इन्स्योरेन्स कम्पनी प्रालि वा अन्य इन्स्योरेन्स कम्पनीहरुसँग समन्वय गरि पशुधन सुरक्षण कार्य गरिने छ ।” उनले भने “किसानहरुलाई आवश्यक पर्ने बीउबिजन, पशु औषधी, अर्गानिक मल, रासायनिक मल तथा कृषि सामाग्रीको कारोबार संचालन गर्नु साथै अर्गानिक उत्पादनतर्फ उन्मुख गराइने छ ।”

कार्यक्रमको अतिथि परेवाश्वरी दुग्ध सहकारीको उपाध्यक्ष दिपक सिलवालले दुधको मुल्य निर्धारण सम्बन्धि मापदण्ड बन्नुपर्नेमा जोड दिए । यस्तै संस्थाको विकासमा सबै पदाधिकारीहरुको आ-आफ्नो जिम्मेवारी हुने उनले बताए ।

यस्तै कार्यक्रमको प्रमुख अतिथि राप्ती-६ का वडा अध्यक्ष जल्लु महतोले कृषकहरुको हकको लागि आफूहरू संस्थासँग समन्वय गरि अगाडि बढ्न तयार रहेको बताए । किसानको हितको लागि सबैलाई एकजुट भएर अगाडि बढ्न उनले अनुरोध गरे ।

यस्तै संस्थाले धेरै मात्रामा दूध बिक्री गर्ने किसानहरुलाई पुरस्कृत गरेको छ । सबैभन्दा धेरै दूध बिक्री गरि दनै गाई फार्मका निलकान्त दनै प्रथम भए । यस्तै सोभनी घर्ती द्वितीय र मुक्तिनाथ सिलवाल तृतीय भए ।

राप्ती नगर पशुपन्छी शाखाका प्रमुख शैलेन्द्र भण्डारी,राप्ती-६ का वडा सदस्यहरु गुनु विक, ममिता कुँवर, राजु तामाङ लगायत विभिन्न सहकारीका पदाधिकारीको उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन सुजन थापाले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार