
तिम्रो बसाईले मेरो यो धडकनमा माधुर्यता छ।
अनि पो जिन्दगी जिउँनुमा पनि सौहार्दता छ।
पानी बिना माछाको जीवनको अस्तित्व छैन
उसै गरी यो जीवनमा तिम्रो आवश्यकता छ।
तिमी र म आपसमा बडो गजबले मिसिएछौं
अब त स्वाद र सुगन्धमा पनि एकरूपता छ।
कसैले बुझ्दैन तिमिले बुझ्छ्यौ तिमी मेरो हौ
फोन आउँछ,काट्नु पर्छ,यो एक बाध्यता छ।
____________________________________
आफ्नो घर बसाँउन पुरै जिन्दगी दाउमा लगाँउछ ।
मान्छे माकुरा हो माकुराले जस्तै जालो बनाँउछ ।।
यो बुझेदेखि मृत्युसंग कहिल्यै डर रहेर भय रहेन ।
मसानघाट छातिमा राखेर बाग्मती मस्त निदाँउछ ।।
मेरो जीवनमा तिमी आयौ म धित मरुन्जेल रमाए ।
जसरी चम्किलो बत्तिको वरिपरि पुतली रमाँउछ ।।
खराब समय छ, जहान सबै भोकको शिविरमा छ ।
सरकार भोकै सुरक्षित रहने बिषय मात्र पढाँउछ ।।
त्येसैले ऊ पत्थर भएर सुन्दर जिन्दगी जिएको छ।
मान्छे भएर बाँचे विभिन्न पीरहरुले मात्र सताँउछ ।
_______________________________________
केही होईन यो जीवन सफर रहेछ ।
भिरालो रहेछ कहिल्यै समथर रहेछ ।।
आत्मीयता सौहार्दता गाउँले सिकाँउछ।
दुश्मनी सिकाउने त साच्चै शहर रहेछ।।
आरती र चिता संगसंगै बल्छ बाग्मतीमा ।
यो सुख दुख: जिन्दगानी बरोबर रहेछ ।।
मायालु ती नजरले सुम्सुम्यायौ, पिलायौ ।
अमृत सम्झी पिँएको थ्येँ जहर रहेछ ।।
तिम्रै निम्ति सकियो ऊ किन केही बोलेन ?
निर्दयी रहेछ तिम्रो दिल पत्थर रहेछ ।।