राप्ती, माघ ६ । राप्ती नगरपालिकाले माघ ९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज शुक्रबार बसेको कार्यपालिकाको १२ औं बैठकले सो निर्णय गरेको हो । ल्होसारको अवसरमा बिदा दिने निर्णय गरिएको नगर प्रवक्ता श्यामसुन्दर उप्रेतीले बताएका छन् । सरकारले ८ गते नै सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।

यस्तै नगरपालिकाले राप्ती-६ मा होमस्टे बनाउने निर्णय गरेको छ । राप्तीमा पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले राप्ती-६ मा रहेको भष्माडी तालमा होमस्टे निर्माण गर्न लागिएको प्रवक्ता उप्रेतीले बताएका छन् । “ताल हेर्नलाई धेरै पर्यटक आउने तर बस्ने ठाउँ नभएकोले त्यहाँ होमस्टे बनाउने भनेर निर्णय भएको छ ।” उनले भने ।

नगरले राप्ती-१ मा आयोजना हुन लागेको परेवाकोट महोत्सवलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । महोत्सवलाई ३ लाख आर्थिक सहयोग गर्ने बैठकले निर्णय गरेको हो । यस्तै नगरले राप्ती-१ मा सम्पन्नको तरखरमा रहेको नगरपालिका कपलाई ७ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको उप्रेतीले बताएका छन् ।

राप्ती नगरपालिकाले नियन्त्रणमा लिएको अवैध ढुङ्गाहरुलाई बढिबढाउ गरि बिक्री गर्ने निर्णय बैठकले गरेको छ । राप्ती-३ मा काम गर्दागर्दै मृत्यु भएकी स्वयमसेविकाको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय पनि नगरपालिकाले गरेको छ । शिक्षा शाखाका कार्यरत कर्मचारी सोमनाथ तिवारीलाई स्रोत व्यक्तिबाट सरुवा गर्ने निर्णय कार्यपालिका बैठकले गरेको नगर प्रवक्ता उप्रेतीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार