
राप्ती, माघ ९ । राप्ती नगरपालिकामा स्वास्थ्यकर्मीहरूको लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । राप्ती नगरपालिका स्वास्थ्य शाखाले स्वास्थ्यकर्मीहरूको लागि विशेष पोषण प्याकेज सम्बन्धी क्षमता अभिवृद्धि तालिम आयोजना गरेको थियो ।
राप्तीमा कार्यरत सबै स्वास्थ्यकर्मीहरूलाई समेट्नेगरी आयोजना गरिएको तालिम तीन चरणमा सम्पन्न हुने भएको छ । यो सहित दुई चरणको तालिम सम्पन्न भइसकेको छ भने माघको १० गतेबाट तेस्रो चरणको तालिम सञ्चालन हुनेछ । राप्ती नगरपालिकाको सबै स्वास्थ्य संस्थाहरूको स्वास्थ्यकर्मीहरुको लागि सो तालिमको आयोजना गरिएको हो । राप्ती नगरपालिकामा १४ वटा स्वास्थ्य संस्था रहेका छन् ।
पोषणसम्बन्धी बृहत् विषयवस्तुहरूको एकीकृत प्याकेज सम्बन्धी तालिम सञ्चालन गर्न आवश्यक पर्ने ज्ञान सीप तथा व्यवस्थापकीय पक्षको क्षमता अभिवृद्धि गर्न तालिमको आयोजना गरिएको स्वास्थ्य शाखा उपप्रमुख राममणी सिलवालले बताए । कुपोषण व्यवस्थापनको लागि प्राविधिक तथा परामर्श सम्बन्ध ज्ञान सीप र क्षमताको विकास गर्न तालिमको आवश्यकता रहेको उनले बताए । तालिम पोषणमैत्री स्थानीय शासनको बारेमा जानकारी दिइएको थियो ।
तालिममा पोषणमैत्री स्वास्थ्य संस्था घोषणा सम्बन्धी मापदण्डको बारेमा पनि जानकारी दिएको थियो । पोषणमैत्री स्वास्थ्य संस्था घोषणाको लागि ६- ५९ महिनाका बालबालिकाहरुले अर्धवार्षिकी रुपमा भिटामिन ए र १२-५९ महिनाका बालबालिकाहरुले
जुकाको औषधि ९५ प्रतिशतले खाएको हुनुपर्ने बारे जानकारी दिइएको थियो ।
तालिम सम्पन्न पश्चात प्रशिक्षार्थीहरु बाट इन्द्रलाल न्यौपानेले तालिमबारे आफ्नो भनाई राखेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेका राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाले राप्तीमा धेरैमात्रामा कुपोषण रहेको र यसको अब न्यूनीकरण हुनुपर्नेमा जोड दिएका छन् । आफूहरुले तालिममा सिकेको ज्ञान अरुलाई पनि सिकाउन उनले आग्रह गरेका छन् ।