
राप्ती, माघ १४ । चितवनको राप्ती नगरपालिका वडा नं ४ ले किसानसँग विज्ञ अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । वडामा रहेका किसानहरुलाई लाभ पूराउने उद्देश्यले वडाले सो कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रमको मुख्य प्रशिक्षकमा पशुविज्ञान पशुचिकित्सा तथा मत्स्य विज्ञान संकाय कृषि र वन विश्वविद्यालय रामपुर चितवनका डिन प्रा.डा. होम बहादुर बस्नेत रहेका थिए । उनले किसानहरुलाई कृषिमा कसरी अगाडि बढ्न सकिन्छ भन्नेबारे जानकारी दिएका थिए । कार्यक्रममा कृषि उत्पादनलाई कसरी बढाउन सकिन्छ भन्ने बारेमा छलफल भएको थियो । कार्यक्रममा किसानहरुलाई परेको समस्यालाई कसरी कम खर्चिलो तरिकाले समाधान गर्न सकिन्छ भन्ने बारेमा अन्तरक्रिया भएको थियो ।
किसानहरूको माग सम्बोधन गर्न आफूहरु सधैं तत्पर रहेको वडा अध्यक्ष केदार आचार्यले बताए । सुखी र समृद्ध वडाको लागि कृषि कार्य अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । अबको पाँच वर्षमा कुनै पनि भेदभाव नगरिकन किसानहरूको समस्यालाई समाधान गर्दै अगाडि बढ्ने उनले बताए ।
कार्यक्रमबाट ४५ जनाभन्दा बढी किसानहरु लाभान्वित भएका छन् । कार्यक्रममा वडा सदस्यहरु रमेश श्रेष्ठ, झमक बहादुर श्रेष्ठ, शान्तिमाया खुलाल, सांसद हरि ढकालको प्रमुख राजनीतिक सल्लाहकार दीपक गौतम, पशुपन्छी शाखाबाट हरिकृष्ण ढकाल, बुद्धिजीवी परिषद राप्ती नगर सदस्य मिन राज खरेल लगायतको विशेष उपस्थिति रहेको थियो ।
वडा सचिव देवी अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन कार्यपालिका सदस्य रमिता परियारले गरेकी थिइन् ।