
राप्ती, माघ २१ । चितवनको राप्ती नगरपालिकामा दोश्रो गड्यौली महोत्सव आयोजना हुने भएको छ । राप्ती-२ स्थित बुद्धशान्ति क्याम्पसको खेल मैदानमा फागुन १८ गते देखि २९ गतेसम्म महोत्सव आयोजना हुने भएको हो । आयोजक गड्यौली भिलेज प्रालिले आज शनिबार र पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिएको हो ।
महोत्सव स्थानीय व्यापार क्षेत्रको प्रवर्द्धन गरी आर्थिक विकाशमा टेवा पुर्याउने उद्देश्यले आयोजना गर्न लागिएको हो । महोत्सवमा १ सयवटा स्टल रहनेछन् । यसको साथै महोत्सवमा उद्यमीहरुको सीप र क्षमता प्रदर्शन, राप्ती डान्सिङ्ग आइडल, राप्ती फेसन सो, सितोरियो कँराते प्रतियोगिता, भलिबल प्रतियोगिता, गएको शैक्षिक सत्रमा एसईई र कक्षा १२ मा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान कार्यक्रमको आयोजना गरिने आयोजकको भनाइ छ । महोत्सवमा विद्यालयस्तरीय चित्रकला प्रतियोगिता समेत आयोजना हुनेछ ।
महोत्सवको विशेष आकर्षणको रुपमा स्थानीय एवम् राष्ट्रिय कलाकारहरुको प्रस्तुतिहरु रहनेछन् ।
महोत्सव करिब १ लाख अवलोकनकर्ताले अवलोकन गर्ने अनुमान गरिएको आयोजकको दावी छ । महोत्सवमा ५० लाख भन्दा बढीको आर्थिक कारोबार हुने विश्वास गरिएको आयोजक संस्थाका अध्यक्ष गणेश लामाले बताए । महोत्सवको प्रवेश शुल्क १ सय र विद्यार्थी परिचयपत्रको लागि ५० रुपैया लाग्ने उनले बताए ।
महोत्सवबाट उठेका रकम फाइदामा गएमा सामाजिक कार्यमा खर्च गरिने आयोजक पक्षले बताएको छ । अहिलेसम्म महोत्सवको आधिकारिक प्रायोजक संस्थाहरु नजोडिएकोले इच्छुक संस्थालाई सहकार्यको लागि समितिले अनुरोध गरेको छ ।