
राप्ती । राप्ती नगरपालिकाले नगर शिक्षा अधिकृत शम्भु प्रसाद पौडेल र प्रहरी निरीक्षक कुमार गुरुङलाई बिदाई गरेको छ । नगर प्रमुख शमशेर लामा, नगर उप प्रमुख देवेन्द्र लामा लगायत वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, नगर शिक्षा समिति, शिक्षक लगायत कर्मचारीहरुले उनीहरुलाई बिदाई गरेका हुन् ।
पौडेलले २७ बर्ष ४ महिनाको निजामती सेवाबाट अवकाश पाएका छन् भने गुरुङले करिब ११ महिना ईलाका प्रहरी कार्यालय भण्डाराको प्रमुखको रुपमा काम गरेका छन् । गुरुङको म्याग्दी जिल्लामा सरुवा भएका हुन् ।
कार्यक्रममा बोल्दै उप प्रमुख देवेन्द्र लामाले सुखद् अवकाश जीवनको कामना गरेका छन् । त्यस्तै प्रहरी निरीक्षक गुरुङको म्याग्दी बसाइ सुखद् रहनेमा आफू विश्वस्त रहेको उनले बताए । नगर प्रमुख शमशेर लामाले बिदाई दुखद् भएपनि हामी खुशीको साथ आत्मसात गर्नुपर्ने बताए । सँगै रहँदा राम्रा कामहरुको सहकार्य भएको उनले बताएका छन् ।