
राप्ती, २७ चैत । चितवनको राप्ती स्थित भण्डारा बजारमा आयोजित रक्तदान कार्यक्रममा ५७ जनाले रक्तदान गरेका छन् । राप्ती उद्योग वाणिज्य संघको आयोजना तथा राप्ती जेसिजको सह-आयोजनामा भएको कार्यक्रममा ८ जना महिला र ४८ जना पुरुषले रक्तदान गरेका हुन् ।
राप्ती उद्योग वाणिज्य संघको अध्यक्ष राजकुमार कँडेलको अध्यक्षता तथा राप्ती नगर उप प्रमुख देवेन्द्र लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
चितवनमा भएको रगतको अभावलाई मध्यनजर गर्दै कार्यक्रमको आयोजना गरिएको संघका अध्यक्ष कँडेलले बताए । सामाजिक कार्य अन्तर्गत संघले यस्ता कार्यहरू गर्दै जाने पनि उनले बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि एवं राप्ती नगर उप प्रमुख देवेन्द्र लामाले उद्योग वाणिज्य संघले राम्रो काम गरेको बताए । रगत मानिसको जीवनमा एकदम महत्त्वपूर्ण रहेको भन्दै रक्तदान जस्तो मानवीय कार्यमा सहभागी हुन उनले आग्रह गरेका छन् ।
कार्यक्रममा जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, उद्योग वाणिज्य संघका पदाधिकारी, जेसिजका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।