
राप्ती, ५ बैशाख । राप्ती नगरपालिका वडा ३ ले आफ्नो वडामा भएका क्लबका खेलाडीहरुलाई खेलकुद सामाग्री वितरण गरेको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ वडाले प्रतापपुर युवा क्लब ,सुन्दरबस्ती क्लब र सृजनशिल युवा क्लबका खेलाडीहरुलाई फुटबल र ब्याडमिन्टन खेलका सामाग्रीहरु वितरण गरेको हो ।
वडाले प्रत्येक क्लबलाई एक सेट फुटबल , बाह्र सेट जुत्ता , मोजा, जर्सी, फुटबल किपिङ ग्लोभ्स् र फुटबल सेफ्टी प्याड वितरण गरेको थियो । साथै वडाले क्लबहरुलाई एक सेट ब्याडमिन्टन र कक पनि वितरण गरेको छ ।
वडाले एक कार्यक्रमको आयोजना गरि खेल सामाग्री वितरण गरेको हो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष शिवकान्त वलीले खेलाडीहरुमा खेल सँगसँगै अनुशासन पनि अपरिहार्य रहेको बताए । “खेल खेल्न होस् वा जुनसुकै ठाँउमा अनुशासनको धेरै ठुलो महत्त्व रहेको हुन्छ ।” उनले भने “तपाईहरु देशको भविष्य हो, आजैबाट यसबारे मनन गर्नुस् । वडालाई राष्ट्रियस्तरमै चिनाउने सोचमा लाग्नुस् ।”
वडाले खेल र युवा विकासका लागि धेरै कार्यक्रमहरु ल्याउने पनि वडा अध्यक्ष वलीले बताएका छन् ।