लेखक कमल पराजुली लेखन कार्यमा सक्रिय छन्। उनको एडिबी पब्लिकेसन्सबाट ‘इन्दिरा’ उपन्यास प्रकाशित छ। आज ‘लेखकलाई १० प्रश्न’ साहित्यिक स्तम्भको अंक ११ मा सजिलोपाटीका प्रधान सम्पादक सुरज बराकोटीले उनीसँग गरेका कुराकानी यस्तो रहेको छ:

१. आजकल के मा व्यस्त हुनुहुन्छ?

– विश्वभर फैलिएको कोभिड १९ को महामारीले हामी नेपालीलाई पनि अछुत राखेन । केही योजना थाँती राखेर, लेखन कार्य र अध्यनमा समय बिताएको छु । साथै दैनिकी काम त छँदैछ ।

२. हजुरको अभिरुचि के मा छ? पछिल्लो समय प्रकाशित भएको कुनै किताब पढ्नु भएको छ?

– म सानैदेखि नै गीत,संगीत तथा साहित्य मन पराउने हुँदा, साहित्य किताब पढ्न लेख्न नै रुचाउँछु । उपन्यास र कथामा अलि बढी नै रुचि लाग्छ । अहिले पछिल्लो समयको किताब पढ्न भ्याएको छैन । लकडाउन हुँदा सातओटा किताब पढेँ नेपाली लेखककै ।

३.अहिलेको पुस्तक बजार कस्तो छ? पाठकहरुले कस्तो बिषयलाई बढी रुचाउने गरेको पाइन्छ?

– अहिलेको पुस्तक बजार मध्यम खाले देख्छु । पहिले जस्तो त्यति धेरै बजार पनि छैन , हुँदैनभएको पनि हैन । सबै लेखक किताब बेचेरै जिविकोपार्जन गर्न पनि सक्दैनन्, सबै प्रकाशकहरुमा पनि आत्मसन्तुष्टि छैन । तर राम्रो पुस्तक पाठकले अबस्य खोज्छन र पढेका पनि छन् र पाठकको रुचिको बिषय यहि भन्ने कुरा हुँदैन जस्तो लाग्छ। समय अनुकुल र परिस्थिति अनुसारको रुचि हुन्छ। विशेषगरि बजारमा निस्किएका पुस्तकमध्ये बढी रुपमा सामाजिक यथार्थ बिषयवस्तुमा लेखिएका किताब पाठकको बढी रोजाइमा पर्दछन जस्तो लाग्छ । स्वयं म आफै पाठकको ठाउँबाट हेर्दा । हुन त अहिले पछिल्लो समय हेर्दा मिश्रित छ ।

४. किताब प्रकाशन हुनु अघि र भैसके पछिको दिनहरुमा आफूले जिउने जीवनमा कत्तिको फरक पाउनु भएको छ?

– किताब प्रकाशन भैसकेपछी जिवनलाई केही प्रभाव पार्ने नै रैछ । म सोँच्थे कि जीवन सदाबार उस्तै हुनेछ तर नहुने रैछ । किताब प्रकाशन हुनु पहिले म अलि हतारमा हुन्थे । धैर्यता भन्ने मसंग थिएन । जब किताब बजारमा गयो आफन्त शुभचिन्तक र पुर्व-पश्चिमका पाठकको माया र सद्भावले झन ठूलो जिम्मेवार थपिएको महसुस हुने। अझै मेहनत गर्नुपर्ने पाठकलाई सदाबहार आफुतिर ध्यान खिचाउन पर्ने । पाठकले कस्तो लेखनलाइ मन पराउने यावत् कुरालाई मध्यनजर गर्दा अझ संघर्षका दिन किताब प्रकाशन पछि देखेँ ।


५. विषयवस्तु छनौट र लेखनको हिसाबले नेपाली साहित्यले कत्तिको फड्को मार्दै छ ?

– लेखनको हिसावले नेपाली साहित्यमा निकै नै फड्को मारेको छ जस्तो लाग्छ र पाठक पनि बढेका छन । ६५/६६ सालतिर काठमाडौं जस्तो शहरमा पनि केही सिमित पसलमा मात्र पाइने पुस्तक अहिले प्राय: पुस्तक पसलमा आफुले रोजेको पुस्तक पाउन सकिन्छ र देशभर जुनसुकै ठाउँमा पनि पुस्तक पाउन सकिने सजिलो माध्यम बनेको छन्। उतिबेला लेखे पनि प्रकाशन गर्ने तरीका थाहा नहुँदा कयौँ श्रष्टाले आफ्नो कला आफ्नो क्षमता देखाउन पनि पाएनन् । अहिलेको डिजिटल दुनियाँले धेरैलाई लेख्न सिकाएको छ । जति पठनको बिकास भयो उति नै लेखनको बिकास हुने हो । कुनैबेला यस्तो समय थियो पत्रिकामा लेखेका लेख पढेर आफ्नो डायरीमा मनको भावना कोरिन्थ्यो । अहिले त्यो समय छैन । चाहेको इच्छाएको किताब पढ्न पाइन्छ । र सिक्ने मौका पनि प्रशस्त छ । त्यसैले पनि लेखनमा बढी आकर्षक अबस्य छन् । अर्को कुरा विषयवस्तु मेरो नजरले त्येती परिवर्तन देख्दैन । हिजोको दिनमा अग्रजका पुस्तक जस्तो पढियो त्यही शैलिमा नै निरन्तर छ झैं लाग्छ । कुनै लेखकले भने केही फरक शैली देखाउने प्रयास चैं गर्नुभएको छ । सकारात्मक पाटो ।

६. विभिन्न डिजिटल माध्यमहरुको बिकाससँगै भविष्यमा पठन संस्कृतिमाथि कस्तो प्रभाव पर्ला?

– यो नै एकदम जटिल परिस्थिति हुनसक्छ । मानिसमा अल्छिपना बढ्दो छ । पहिले हामीले मन परेका किताब बजारमा खोजीखोजी पढ्थ्यौँ । आह फलानो लेखकको किताब आयो रे भनेर साथिभाइहरुबिच कुरा हुन्थे । तर अहिले त्यति धेरै चासो राखिँदैन । पढ्ने भन्दा पनि सुन्ने र हेर्ने तिर बढी आकर्षक हुन थाले, हुन पनि अहिलेको दुनियाँ त्यतैतिर ढल्किएको छ । समस्यासँगै समाधान हुनेमा विश्वस्त छु ।

७. पहिलो पुस्तक ‘इन्दिरा’ को जन्म कसरी हुनपुग्यो? यो किताबबाट के कस्तो प्रतिक्रिया पाउनुभयो?

– म सानैदेखि साहित्य कला गीत संगीतमा रमाउन खोज्ने मान्छे । अझ हाम्रो भेग गुल्मी भनेको त गीत संगीतले चुर्लुम्मै डुबेको ठाउँ । त्यसमा म पनि अछुतो भइनँ । थुप्रै गीतहरु लेखेँ तर कापीको पानामै सिमित रह्यो । देखाउने सुनाउने माध्यमबाट म चुकेँ । जब उमेर बढ्दै गयो स्कुले किताब भन्दापनी बाहिरी किताबमा म बढी आकर्षक हुन थालेँ । उतिबेला स्कुले जिवनमा कथा उपन्यास भनेको कसैले सुनाएमात्र हो नत्र हुँदैन थियो । पहिलोपटक म काठमाडौं प्रवेश गरेकै दिन एउटा कथा संग्रह किनेको थिएँ त्यसको मूल्य १७० रुपैयाँ थियो । मन परेर भन्दापनी रहरले किनेको किताब थियो। पसलमा झुन्डिएको देखेँ ल्याएँ ।नाम याद भएन। त्यसपछि मलाई किताब पढ्नमा अझ मन लाग्न थाल्यो। फुर्सदको समय र पैसा भएसम्म उपन्यास र कथा किनेर पढ्न थालेँ । क्याम्पसको लाइब्रेरीबाट पाएसम्मको त एउटा पनि छोडिन । पुराना लेखकका पुस्तक धेरै पढेँ । जतिनै राम्रो लागेपनी केहि न केहि छुटेजस्तो । लेख्नुपर्ने कथा नसमेटिए जस्तो लाग्यो, त्येसपछी मलाई पनि लेख्ने हुटहुटी चल्यो । मनको भावना लेखेर त कति कापीको पाना च्यातियो सम्झी साध्य छैन । उपन्यास इन्दिरा नाम र इन्दिरा पात्रमात्र नयाँ हो तर यसको सुरुवात ६७/६८ सालतिर नै भएको थियो। समय र परिस्थितिले केही पर धकेल्यो। ढिलो भयो राम्रै भयो । पाठकको प्रतिक्रिया पनि मिश्रित आएका छन् । धेरै पाठकले मलाई गाली पनि गर्नुभएको छ । नाम छनोटमा न्याय भएन । सृष्टि अथवा सुमिना हुनुपर्थ्यो भनेर सुझावको लर्को आयो । यो बारेमा मैले गल्ती पनि स्विकारेको छु । धेरैले भन्नुभएको छ यथार्थ र आफ्नै वास्तविक कथा जस्तो लाग्यो । वैदेशिक रोजगारीमा भोग्नुपरेको पीडा , देश छोड्दा आफ्नै हितैषी जीवन संगिनिले साथ छोड्नुको पीडा । सामाजिक संजालबाट लगाएको माया प्रेम अलपत्र हुँदाको कथा समेटिएको हुँदा धेरै पाठकले रुचाउनु भयो म अत्यन्तै खुसी छु ।

८. पुस्तक लेखिरहदा कतै पात्रहरुले कत्तिको पिरोल्यो?

– कथाको भावमा डुब्दैजाँदा पात्रबाट उम्किन मुस्किल पनि पर्दोरहेछ मेरो अनुभवमा । इन्दिरा भित्र एक मुख्य पात्र सृष्टि छिन्। सृष्टि पात्रबाट म भाग्न सकिन । सृष्टि उपन्यासको पात्र मात्र नभएर उनी एक वास्तविक टुहुरी नारी थिइन । आफ्नो आमा गुमेपछी सौतेनी आमाको ब्यावहार सहन नसकेर मावली घरमा बसेर भाइलाई हुर्काएकी थिइन् । केही समयपछि पाल्पाको लडाइँमा तत्कालीन बिद्रोही माओवादीको आक्रमणमा बुवापनि गुमाइन् । जबर्जस्ती बिहेपनी भयो प्रेमी पनि गुमाइन्। सबथोक गुमाएकी सृष्टि अन्तमा आत्महत्या गरेर आफ्नो भौतिक शरीर पनि गुमाइन्। यो काल्पनिक मात्र नभै वास्तविक पनि थियो । लेख्दै गर्दा कयौंपटक आफै रोएको पनि छु । किताबको जन्म इन्दिरा भएपनि मैले सम्झिरहने मात्र सृष्टि पात्र हो ।

९. किताब लेख्दा पात्र र बिषयवस्तुको छनौट कसरी गर्नुहुन्छ?

– पहिले बिषयवस्तु छनोट गर्छु । म अहिलेसम्म एउटै धारमा अडिक छु । सामाजिक विषयवस्तुमा नै । उपन्यास ,कथा, कविता , गीत लेख्नको लागि कुनै बन्द कोठामा हैन खुल्ला प्रकृतिभित्र रमेर लेख्न सक्यो भने माटोको गन्ध आउँछ आजिवन हुन्छ । आफ्नै देश आफ्नै गाउँ आफ्नै ठाउँमा जतिपनी छन् सबै विषयवस्तु जस्तो लाग्छ । जब मैले विषयवस्तु छान्छु कस्तो परिवेशमा कथा बन्दैछ त्यसै अनुसारको पात्र छनोट हुन्छ ।

१०. नयाँ कुनै पुस्तक आउँदै छ कि? यदी छ भने कुन बिषयलाई उठान गर्नुभाछ?

– अहिलेको कोभिड महामारीले गर्दा केही समस्या उत्पन्न भएको छ । अहिले तत्काल उपन्यास हुँदैन । लेख्दैछु । विषयवस्तु भनेको एउटै समाजभित्र दलित र गैर दलित बिचको सम्बन्धले निम्ताएको लडाइँ र तत्कालीन बिद्रोहि छापामार लडाकुको को एउटा सैनिक सिपाहीसँगको प्रेम कथामा हुनेछ। त्यसैको लागि पनि म तीन महिना गाउँमै आएर घरमा बिताएँ । केही पाका अभिभावकसंग बुझ्न जान्नको लागि । र कथा संग्रह पनि प्रकाशन गर्ने सोँचाइमा छु। त्यतातिर पनि समय बिताएको हुँदा अलि समय लाग्न सक्छ । कोभिड अलि कम भयो भने कविता संग्रह चैँ लिएर अबस्य आउनेछु आम पाठकको सामु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार