गीत संगीत क्षेत्रमा दर्जन भन्दा बढी एल्बम पस्किसकेका गायक संगीतकार तथा लेखक निर्दोष जीवन लेखन कार्यमा पनि उत्तिकै सशक्त छन्। युरेका पब्लिकेसन्सबाट “मैयाँ” कथा संग्रह प्रकाशन पश्चात् पाठकको मन जित्न सफल भएका उनको “प्रिय साथी” संयुक्त गजल संग्रह पनि प्रकाशित छ। आजको “लेखकलाई १० प्रश्न” साहित्यिक स्तम्भको अंक १२ मा सजिलोपाटी डट कमका प्रधान सम्पादक सुरज बराकोटीले उनीसँग गरेको कुराकानी यस्तो रहेको छ-

१. आजकल के मा व्यस्त हुनुहुन्छ?

– नयाँ गीत संगीत तथा सर्ट मुभि सँगै नयाँ किताबको तयारी गर्दैछु।

२. किताब पढ्नमा कत्तिको रुचि राख्नुहुन्छ? नेपाली साहित्य वा अंग्रेजी साहित्य कुनमा बढी अभिरुचि छ?

– लेखक भएको कारणले मात्रै नभएर म सानै देखि किताब पढ्न रुचि राख्थें।किताब भनेको ज्ञान हो।ज्ञान हाँसिल गर्नका निमित्त किताब अति उपयोगी लाग्छ मलाई र मेरो नेपाली साहित्यमा बढि रुचि छ ।

३.अहिले सम्म मनपरेको कुनै एउटा किताबको नाम लिनुपर्दा कुन किताबको नाम लिनुहुन्छ?

– कुनै पनि किताब नराम्रो त हुँदै हुन्न। किनकि कुनै पनि लेखकले नराम्रो किताब निकालेका हुन्छन् जस्तो मलाई लाग्दैन । हरेक पाठकका आ-आफ्ना रोजाइका किताब हुने गर्छन्।कहिलेकाहीँ किताब पढ्दै जाँदा अलमल परेर पढ्दापढ्दै बिचैमा किताब छाड्नु परेको छ। यसको अर्थ किताब नराम्रो छ भन्ने होइन । मेरो हिसाबमा नराम्रो किताब छैन।

४. किताब लेख्ने प्रेरणाको स्रोत कसलाई मान्नुहुन्छ?
– मित्र लेखराम सापकोटा / उदय अधिकारी दाजु

५..साहित्यिक किताब पाठकले किन पढ्नुपर्छ?

– किताब पाठकले नपढे त लेखक ठहरै मरिहाल्छन् नि।
साहित्यले समाजका विविध बिषयवस्तुलाई सृजनाको माध्यमबाट उठान गर्ने भएकोले किताबद्वारा पाठकले आफू हुर्किएको समाजभित्रका कयौं विषयहरु बारे सहजरूपमा जानकारी हाँसिल गर्न पाउने भएकोले पनि पाठकले साहित्यक किताब पढ्नुपर्छ।

६. “मैयाँ” कथा संग्रहको जन्म कसरी हुन पुग्यो?

– मैले गीतबाट मेरो साहित्यिक यात्राको थालनी गरेको हुँ।विस्तारै कथा लेखनमा पनि सकृय हुँदै गएँ।थुप्रै कथाहरुले डायरी भरिंदै गएपछि अब कथालाई किताबको रुप दिनुपर्छ भन्ने मनसाय मनमा उब्जियो।अनि मित्र लेखराम सापकोटाले मैयाँलाई किताबको अाकार दिनुभयो ।फलस्वरूप मैयाँ कथा सङ्ग्रहको जन्म हुन पुग्यो ।

७.किताब लेख्दा तपाईँले पात्र र बिषयवस्तुको छनौट कसरी गर्नुहुन्छ?

– पहिला कथाको बिषय वस्तुको छनोट गर्छु।के विषयमा कथा लेख्ने भन्नेबारे राम्रोसँग बिचार गर्छु ।त्यसपछि विषय वस्तुलाई सुहाउने पात्रको छनोट गर्छु।

८.अहिलेको किताब बजारलाई कसरी नियाल्नु भएको छ?

– कोभिड – १९ पछि किताबको बजार केही हदसम्म खस्किएको हो।तैपनि खाने मुखलाई जुँगाले छेक्दैन भने झैं असल पाठकका लागि कोभिडले पनि छेक्न सकेन।अहिले पाठकहरु पनि निकै सचेत भैसकेका छन्।पाठक किताब चुजी हुँदै गएका छन्।लेखकहरुले पाठकको रोजाईलाई समेत मध्यनजर गरि किताब लेख्नुपर्ने अवस्था अाएको छ।जहाँ सम्म किताबको बजारको कुरा छ,किताब पढ्ने संस्कृतिको बिकास हुँदै गएको छ।यसलाई अत्यन्तै हार्दिकताका साथ स्वागतयोग्य मान्नुपर्छ।

९. किताब प्रकाशन हुनु पहिले र भए पछिको जीवनमा के कस्ता भिन्नता महसुस गर्नुभयो?

– किताब प्रकाशन हुनुपूर्व लेखकको परिचय साँघुरो क्षेत्रमा मात्रै सिमित हुन्थ्यो।खासै चुनौती पनि हुदैनथ्यो ।कहिलेकाहीँ मनलाग्दा लेखे भैहाल्थ्यो भने किताब प्रकाशन भएसँगै लेखकको परिचयको क्षेत्र विस्तार भएर फराकिलो हुने हुँदा लेखकका लागि थुप्रै चुनौतीहरु हुने गर्छन्। पाठकहरुले लेखक बाट अझै नयाँ खँदिलो खुराकको अपेक्षा गर्छन्।लेखकका लागि गुणस्तरीय सृजनाको टड्कारो रहन्छ ।पाठकलाई सन्तुष्ट पार्न निकै हम्मेहम्मे पर्छ लेखकलाई ।धेरै कुरामा बिचार गरेर लेख्नुपर्ने हुन्छ।धेरै चुनौतीको सामना गर्नुपर्छ।

१०.नयाँ पुस्तक आउँदै छ कि? यदी छ भने कुन विषयबस्तुलाई उठान गर्नुभएको छ?

-” नोस्टाल्जिया ” आउँदैछ। समाज भित्र मैले देखेका अनि भोगेका बिषयहरु समेटिएको छ । छिट्टै पाठकसामु लिएर आउनेछु।

प्रतिक्रिया

सम्बन्धित खवर