लेखक मिलन संग्रौला लेखन कार्यमा सक्रिय हुनहुन्छ। उहाँको “पर्पला” र “च्याट गर्ल” पुस्तक प्रकाशित छ। आजको “लेखकलाई १० प्रश्न” साहित्यिक स्तम्भको अंक १३ मा सजिलोपाटी डट कमका प्रधान सम्पादक सुरज बराकोटीले उहाँसँग गरेका कुराकानी यस्तो रहेको छ-

१. आजकल के मा व्यस्त हुनुहुन्छ?

आजकाल साहित्यक पठन र साथै अध्यापन कार्यमा व्यस्त छु । लेखनमा भने मेरो तेस्रो कृति(दोस्रो उपन्यास) को पुनर्लेखनमा केन्द्रित छु ।

२. किताब पढ्नमा कत्तिको रुचि राख्नुहुन्छ? नेपाली साहित्य वा अंग्रेजी साहित्य कुनमा बढी अभिरुचि छ?

किताब मेरो सबैभन्दा नजिकको मित्र हो । यसले कहिले एक्लो महसुस हुन दिएन । म बढी राम्रो भाषा शैली भएका नेपाली पुस्तक(आख्यान/गैरआख्यान दुवै ) पढ्न मन पराउँछु । अंग्रेजीमा भने म सिकारु पाठक नै छु । लोकप्रिय अंग्रेजी आख्यानहरु भने पढेको र पढ्ने क्रममा छु ।

३.अहिले सम्म मनपरेको कुनै एउटा किताबको नाम लिनुपर्दा कुन किताबको नाम लिनुहुन्छ?

मलाई मदनमणि दीक्षितको उपन्यास माधवीले जस्तो प्रभाव अहिले सम्म अरु पुस्तकले पार्न सकेको छैन । उत्तर वैदिक परिवेश र भाषाका कारण तेस्रो पटकको प्रयासमा मात्र मैले यसलाई पढ्ने आँट गरेको थिएँ । पढुन्जेल र सकेपछी भने यसको आनन्दले धेरै दिनसम्म मुग्ध बनाइरहयो । माधवी नेपाली साहित्यको सगरमाथा नै हो ।

४.साहित्यिक किताब पाठकले किन पढ्नुपर्छ?

साहित्य शब्दमार्फत दुनियाँ र मानवका समस्या, भावना, इतिहास, अनुभव , समाधान आदि बुझ्ने प्रभावशाली माध्यम हो । शब्दले दिमाग मार्फत बन्ने चित्रले मान्छेलाई अझ कल्पनाशील र सिर्जनशील बनाउँछ । त्यसैले श्रव्यदृश्य र अन्य विद्युतीय सामाग्रीको जति नै विकास भए पनि कितावको महत्व उस्तै नै छ ।

५.के साहित्यिक किताबले समाजको बिसङ्गति हटाउन मद्दत गर्ला त?

साहित्यले मान्छेको संवेदनालाई छुने गर्छ । जुन समाजमा संवेदनशील मान्छे हुन्छन् , त्यहाँ स्वत: बिसङ्गति कम हुन्छ । साहित्यले समाजमा रातरात परिवर्तन गर्ने होइन, यसले सभ्यतामा योगदान दिने हो ।

६.”पर्पला” उपन्यासको जन्म कसरी हुन पुग्यो?

केही पात्रहरुसंगको संयोगको भेट नै यस उपन्यासको बिज बन्यो । किशोर अवस्थाको काँचो भावना, प्रेम र त्यसले निम्त्याएको परिस्थिति भोग्ने ती पात्रहरु जस्ता असंख्य किशोरकिशोरीको बारे नेपाली साहित्य कम नै लेखिएको देखेर यो उपन्यास लेख्ने उत्प्रेरणा जाग्यो ।

७.”च्याट गर्ल” पुस्तक लेखिरहदाँ पात्रले कतिको पिरोल्यो?

च्याट गर्लको एक मुख्य पात्र लेखक स्वयं भएको र यो उसकै वास्तविक भोगाइबाट जन्मिएको कथा हो । यो कथा घटित हुँदा र लेखिरहँदा शब्दमा पोखिन नसक्ने अनुभुति भएको थियो । मैले मेरो क्षमताले जति भ्यायो त्यति मात्र कथामा उतार्न सकेको हुँ । पछि मलाई भन्दा बढी पाठकलाई पिरोले ती पात्रहरुले । आजसम्म पनि सोधखोज गरिरहनुहुन्छ ।

८.अहिलेको किताब बजारलाई कसरी नियाल्नु भएको छ?

नेपालमा पठन संस्कृतिको विकास अझ हुन सकेको छैन । कहिलेकाही पुस्तक पढ्ने लहर उठ्छ तर फेरि कुनै समस्याले त्यसलाई घटाउँछ । कोरोनाका कारण नेपाली पुस्तक बजारमा पनि केही असर परेको छ नै । यसलाई फेरि उठाउन लेखक, प्रकाशक र वितरक सबैले उच्च मनोबलका साथ कर्म जारी राख्नु पर्छ । अबको पुस्ताले घरमा सानो भए पनि पुस्तकालय हुनु गर्वको कुरो हो भन्ने महसुस हुनुपर्छ ।

९. किताब प्रकाशन हुनु पहिले र भए पछिको जीवनमा के कस्ता भिन्नता महसुस गर्नुभयो?

किताब प्रकाशन हुनु अघि र पछि हुने मुख्य परिवर्तन भनेकै पाठक र सन्चारकर्मी मित्रहरुसँगको अन्तक्रिया हो। अनि लेखनप्रति अझ जिम्मेवारीबोध हुने हुँदा पठन र लेखनमा समय बढाउनुपर्ने पनि हुँदो रहेछ ।

१०.नयाँ पुस्तक आउँदै छ कि? यदी छ भने कुन विषयबस्तुलाई उठान गर्नुभएको छ?

अहिले नयाँ उपन्यासको पुनर्लेखनमा केन्द्रित छु । यस पटक अलिक फरक परिवेश र घटनामा अधारित रहेर लेखिएको छ । द्वन्द, बसाइँसराई र सपनाहरुको तानातानमा परेका पात्रहरुको प्रेमकथा छ यसमा ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार