
हेटौंडा, १८ पुस । मकवानपुरमा चितवनका तीन जना पत्रकारका साहित्यिक कृति माथि छलफल कार्यक्रम चलाइएको छ ।
चितवनका पत्रकारहरूले लेखेका पुस्तक मोसो, एकान्तवास र कुमातामाथि शनिबार बागमती प्रदेशको राजधानी हेटौँडामा एक कार्यक्रमबीच वृहत चर्चा गरिएको हो । राउण्ड टेबल गसिपले आयोजना गरेको कार्यक्रममा ती कृतिमाथि समीक्षासहितको चर्चा गरिएको हो ।
पत्रकार सूर्यप्रकाश कँडेलद्वारा लिखित ‘मोसो’ उपन्यासमाथि समीक्षात्मक टिप्पणी गर्दै प्राध्यापक घनश्याम घिमिरेले चितवनको सेरोफेरोमा लेखिएको मोसोभित्र पत्रकारिताभित्रका सकारात्मक र नकारात्मक दुबै प्रसंगहरू समेटिएको बताए । उनले मोसोभित्र पत्रकारिताको विकृतिको शल्यक्रिया पर्याप्तमात्रामा नभएको धारणा राख्दै विषयवस्तुलाई सजिलो पारामा अभिव्यक्त गरिएको र कलात्मकताको अभाव रहेको विचार व्यक्त गरे ।
विनोदबाबु रिजालले लेखेको लकडाउन डायरी ‘एकान्तवास’ माथि पाठकीय भनाइ राख्दै कवि शान्ति प्रियवन्दनाले लकडाउनको अवधिमा लेखिएका निबन्ध रिपोर्ताज् शैलीका रहेको बताइन् । उनले पुस्तकमा लकडाउनको अवधिमा घर फर्केकाहरुको बिजोग अवस्था पुस्तकमा छुटेको टिप्पणी गरिन् । पुस्तकमा कोभिडसँग सम्बन्धित बिषयवस्तुको जानकारी सँगसँगै समसामयिक राजनीतिलाई लेखकले सरल भाषामा उठाउन सकेको दावी गरिन् । एकान्तवास लकडाउनका बेला सिर्जना भएका अप्ठ्यारा र असजिलालाई समेटिएको सूचनामुलक पुस्तक भएको उनले बताइन् । वसन्त पराजुलीद्वारा लिखित ‘कुमाता’ कथा संग्रहको समीक्षा गर्दै कवि निमेष निखिलले कुमाताभित्रका १० वटा कथामा विषयगत विविधता रहेको बताए । उनले पुस्तकमा भाषिक त्रुटी भेटिएपनि ती कथाहरु विषयवस्तुका हिसाबले राम्रा रहेको प्रतिक्रिया दिए । पत्रकार छवि अनित्यले सञ्चालन गरेको कार्यक्रममा लेखकत्रय कँडेल, रिजाल र पराजुलीले आफ्ना भनाई राख्दै पहिलो कृति भएकोले साहित्यको मिठास दिन नसकेको स्वीकार गरे । समाचार लेखिरहेको व्यक्तिले साहित्यमा कलम चलाउँदा लेखनीमा सरलता भएको उनीहरुको भनाइ थियो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले कुनै पनि कृति आफैमा पूर्ण नहुने बताउँदै लेख्न छाड्न नहुने सुझाव दिए । उनले व्यक्तिको कमजोरीलाई संस्थागत कमजोरीका रुपमा प्रस्तुत गरिनु गलत हुने बताए । उनले भने, ‘व्यक्ति गलत हुन सक्छ, संस्था गलत हुँदैन ।’ व्यक्तिगत कमजोरी सुधारका लागि साहित्यले मार्गदर्शन गर्नुपर्ने उनको भनाइ थियो । पत्रकार राम अविकासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ वागमती प्रदेशका सल्लाहकार एवम् तुखबर डटकमका सम्पादक गिरिजा अधिकारीले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा लेखकद्वय कँडेल, रिजाल र पराजुलीलाई कदरपत्र समेत दिइएको थियो ।