
आहुतीको नेतृत्वमा रहेको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले प्रधानमन्त्री केपी ओली सरकारद्वारा भएको संसद विघटन पूँजीवादी व्यवस्थाको असफलता भएको बताएको छ ।
पार्टीले मंगलबार प्रेषित गरेको विज्ञप्तिमा देशमा उत्पन्न संकट पार्टी गुट वा व्यक्तिको कारणले नभई मूलत दलाल पूँजीवादी व्यवस्थाको असफलताबाट जन्मिएको ठहर गरेको छ । पार्टीले केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकमा यस्तो ठहर गरेको विज्ञप्तिमा उल्लेख छ । यो संकट उत्पन्न गर्न प्रधानमन्त्री ओली र त्यसको गुट संघर्षका कारणका रुपमा मात्रै प्रकट भएको विज्ञप्तिमा बताइएको छ ।
विज्ञप्तिमा दलाल संसदीय पूँजीवादी व्यवस्थामा आजको संकटको समाधान संसदको पुर्नस्थापना र मध्यवधी चुनाव नरहेको उल्लेख गरिएको छ । काठमाडौँमा सम्पन्न भएको उक्त बैठकमा कम्युनिस्ट क्रान्तिकारी ध्रुविकरणको लक्ष्यलाई प्राप्त गर्न र तत्काल दलाल पूँजीवादी व्यवस्थाको असफलताबाट उत्पन्न संकटलाई सही निकास दिन पार्टीले एक वर्षदेखि औपचारिक रुपमा पहल गर्दै आएको विज्ञप्तिमा उल्लेख गरेको छ ।
त्यस्तै पार्टीले राष्ट्रिय स्वाधिनता, जनजिविका र लोकतान्त्रिक मूल्यहरुमाथि सत्ताद्वारा लादिएका दलाल भष्ट र निरंकुश प्रकरणविरुद्ध संयुक्त एकल तथा विभिन्न मोर्चाहरुमार्फत पार्टीलाई अघि बढाउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।