
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड-१९ का कारण बन्द अवस्थामा रहेको अन्तर्राष्ट्रिय उडान पाँच महिनापछि आज रातिबाट नियमित सुरु हुने भएको छ । सरकारले गत भदौ ४ गते स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै उडान सुरु गर्ने निर्णय गरेपछि व्यवसायिक रूपमा अन्तर्राष्ट्रिय उडान सुरु हुन लागेको हो ।
पीसीआर परीक्षण सहज भएका देशहरूबाट शर्तसहितको नियमित उडान हुने सरकारले स्पष्ट पारेको छ । नियमित अन्तर्राष्ट्रिय उडान अन्तर्गत आज राति एक बजे नेपाल वायु सेवा निगमको वाइड बडी (मकालु 9N-ALZ) जहाजले जापानको नारिताका लागि उडान भर्ने त्रिभुवन विमानस्थलले जनाएको छ । यस बीचमा नियमित उडान नहुने राष्ट्रबाट चार्टर्ड उडान समेत गरिने संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले जनाएको छ ।
कोरोना महामारीका कारण गत चैत १० देखि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएको थियो । यो अवधिमा कुनै पनि व्यवसायिक उडान नभए पनि विदेशमा अलपत्र नेपाली ल्याउन नेपाल र विदेश दुबैतर्फबाट चार्टर्ड उडान भएका थिए । पाँचौँ चरणको उद्धार उडान अन्तर्गत आज नेपाल एयरलाइन्सले दोहाबाट १ सय ३८, कुवेतबाट १ सय ५२ र हिमालयले दोहाबाट १ सय २६ जनालाई नेपाल ल्याएको छ । कुवेतबाट नेपाल एयरलाईन्सले आजै १ सय ५२ जनालाई काठमाडौं ल्याउनेछ । उद्धार उडानमार्फत हालसम्म ५५ हजार १ सय ४६ जना नेपाली स्वदेश फर्किसकेका छन् । यसै अवधिमा नेपालबाट २२ हजार १ सय ९६ जना यात्रु बाहिरिएका छन् ।
विदेशबाट आउने यात्रु विमानस्थलबाट सिधै होल्डिङ सेन्टरमा जानुपर्नेछ । प्रदेश अनुसारको सातै प्रदेशको छुट्टाछुट्टै होल्डिङ सेन्टरमा पुगेपछि यात्रुको पीसीआर रिपोर्ट आएपछि मात्र उनीहरूको होटल बसाई र घर जाने बारे निधो गरिनेछ ।
स्रोत : इकान्तिपुर