
पुर्वी चितवनको राप्ती नगरपालिका ०५ स्थित भण्डारा चोकमा नेपाली कांग्रेसको बृहत विरोध प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ।
नेपाली कांग्रेस राप्ती नगरपालिका समितिद्वारा आयोजित कार्यक्रमको समितिका सभापति नारायण उप्रेतीको सभापतित्वमा सम्पन्न भएको हो।

कार्यक्रमको प्रमुख अतिथिमा पूर्व मन्त्री तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य महेश आचार्य हुनुहुन्थ्यो भने विशिष्ट अतिथिमा नेपाली कांग्रेस जिल्ला समिति सभापति जीत नारायण श्रेष्ठ हुनुहुन्थ्यो।
कार्यक्रममा बोल्दै श्रेष्ठले प्रधानमन्त्री केपी वलीले असंवैधानिक कदम उठाएगका जिकिर गर्नुभयो। राणा शासन, पञ्चायत, निरंकुश राजा शासनलाई हटाएको नेपालको जेठो पार्टी नेपाली कांग्रेसले वली सरकारलाई पनि सजिलै ढाल्न सक्ने बताउनुभयो। प्रधानमन्त्री केपी वली जनताको लागि जेल नबसेको पनि उहाँले बताउनुभयो “इतिहासलाई हेर्ने हो भने केपी वली देश र जनताको लागि १४ बर्ष जेल बसेका होइनन्, झोलुङ्गोमा सुतेको बच्चाको टाउको काटेको भएर जेल गएका हुन्।” उहाँले भन्नुभयो।
प्रचण्ड पनि देशको लागि नभई सत्ताको लागि लड्ने नेता भएको उहाँको भनाई छ “यदी गिरिजाप्रसाद कोइरालाले शान्ति सम्झौता नगरेको भए प्रचण्ड पनि विप्लव झैँ कुनै डाँडामा चन्दा उठाउदै बस्ने थिए। त्यसैले देशको जेठो पार्टी हामी हौँ।” उहाँले भन्नुभयो।
वलीले लोकतन्त्र र प्रजातन्त्रको लागि कुनै योगदान नदिएको कारणले उनले अलोकतान्त्रिक कदम उठाएको र जनतालाई झुठ्ठा आश्वासन दिएको उहाँको भनाई छ।
अब चितवन जिल्लाको सबै स्थानिय तह लगायत राप्ती नगरपालिकामा पनि कांग्रेसले बाजी मार्ने उहाँको भनाई रहेको छ।
त्यस्तैगरि देश बनाउनलाई र संविधानको उचित कदर गर्नलाई अब कांग्रेस नै आवश्यक रहेको कार्यक्रमको प्रमुख अतिथि आचार्यले बताउनुभयो। कांग्रेसको सरकार आए चार किसिमको सरकार बन्न सक्ने उहाँले बताउनुभयो। कोरोनाको कारण मानिसहरुले अकालमा ज्यान गुमाइरहेको बेला, कोरोनाको विरुद्धमा लड्न र एकतावध्द भएर अगाडि बढ्नुपर्ने बेला सत्ताको लुछाचुँडी नेकपा फसेको देख्दा नेपाली कांग्रेस अचम्ममा परेको उहाँले बताउनुभयो। विकासको गति ठप्प रहेको र आर्थिक विकास शून्य रहेको पनि उहाँले बताउनुभयो।