युवा लेखक आकाश पौडेलको तपस्या उपन्यासको विमोचन भएको छ । युरेका पब्लिकेसन्सले प्रकाशन गरेको तपस्यालाई प्रमुख अतिथि आख्यानकार भूपिन र लेखक आकाश पौडेलले विमोचन गरेका हुन् । भरतपुरस्थित सप्तगण्डकी क्याम्पसमा आयोजना गरिएको विमोचन समारोहमा चितवनका साहित्यकार साथै सप्तगण्डकी क्याम्पसका विद्यार्थीहरूको सहभागिता थियो ।

`तीन खण्डमा बिभाजित उपन्यास पहिलो खण्डमै टुङ्गिए पनि लेखकिय चतुरताले दोस्रो र तेस्रो खण्डमा पनि उपन्यासलाई पठनीय बनाएको छ ।´ तपस्या पुस्तकका सन्दर्भमा बोल्दै प्रमुख वक्ता द्वारिका नेपालले भने- `तपस्या प्रेमकथामा आधारित युवा केन्द्रित उपन्यास हो । सँगसँगै विपरीत लिङ्ग प्रतिको आकर्षण र पशुप्रेमलाई उपन्यासको कथा बनाइएको छ ।´ सरल र सरस भाषामा लेखिएको तपस्या प्रेमकथाका आख्यान पढ्ने पाठकका लागि राम्रो कृति भएको नेपालले बताए ।

अर्का वक्ता सौगात आचार्यले तपस्या पुस्तकमा उठाइएका मुद्दामाथि अहिलेका पुस्ताले बहस गर्नुपर्ने बताए । युवा उमेरमा देखिने आनीबानी र युवा चन्चलता किताबमा समावेश गरिएकोले तपस्या युवापुस्ताले पढ्नुपर्ने किताब भएको उनले बताए ।

कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्री र सप्तगण्डकी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मणिराज महतोले शुभकामनाका शब्द राख्दै लेखकलाई कृति प्रकाशनको लागि बधाई दिँदै पुस्तकको सफलताको कामना गरे ।

सप्तगण्डकी बिम्ब यात्राकी उपाध्यक्ष सुप्रदीप्ती भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमलाई सञ्चारकर्मी सबिता अधिकारीले सहजीकरण गरेकी थिइन् । कार्यक्रममा प्रगतीशील लेखक संघ चितवनकी उपाध्यक्ष प्रभा मरहठ्ठा र सञ्चारकर्मी भूपराज पाठकले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै लेखक पौडेलले करिब ४ वर्षको मेहनतपछी पुस्तक बजारमा ल्याउन सकेको बताए । युवाले लेखेको युवा केन्द्रित पुस्तक भएकोले युवा पाठकका लागि तपस्या पठनीय कृति भएको युरेका पब्लिकेसन्स तथा सम्पूर्ण किताबका संचालक लेखराम सापकोटाले बताए । युरेका पब्लिकेसन्सले प्रकाशन गरेको पुस्तकको मूल्य ३८५/- छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार