आकाश पौडेल चितवनको लेखन तथा पठन क्रियाकलापमा सहभागिता जनाइरहने नाम हो। उनको भर्खरै “तपस्या” उपन्यास युरेका पब्लिकेसन्सबाट प्रकाशित भएको छ। आज ‘लेखकलाई १० प्रश्न’ को साप्ताहिक साहित्यिक स्तम्भ अन्तर्गत अंक १४ मा यस सजिलोपाटी डट कमका प्रधान सम्पादक सुरज बराकोटीले उनीसँग गरेको कुराकानी यस्तो छ:

१) कोरोनाको माहामारी भएको लकडाउन पछिको समय कि चल्दैछन्?

समय मेरोलागि लगभग पुरानै अवस्थामा फर्किएको छ । दिनचर्या पुरानै जस्तै गरी बित्दै छन् । अहिलेको अवस्थासम्म उपन्यासकै काममा ब्यस्त थिएँ । अझै पनि छु । अब परिक्षाको तयारीमा जुट्नु छ । तर मन मोडिन मानेकै छैन ।

२)किताब पढ्नमा कत्तिको रुचि राख्नुहुन्छ? नेपाली साहित्य वा अंग्रेजी साहित्य कुनमा बढी अभिरुचि छ?

किताब पढ्नमा रुचि धेरै नै छ । वास्तवमै भन्ने हो भने पछिल्लो समयमा किताब पढेकै छैन भन्दा पनि हुन्छ । आफ्नै किताबको तयारीमा दौडिंरहेको थिएँ । ४ वटा किताब पढनलाई लाइनमा छन् । म विषेशत नेपाली साहित्यसँग नजिक छु ।

३) अहिले सम्म मनपरेको कुनै एउटा किताबको नाम लिनुपर्दा कुन किताबको नाम लिनुहुन्छ?

एउटा मात्रै भएको भए अर्कै हुन्थ्यो, धेरै छन् । आफुलाई मन नपरेका कुराहरु अरुलाई मन पर्न सक्छन् त्यो फरक कुरा भयो । आफुलाई मन नपरेका कुराहरू लेखकलाई सिधैं भन्ने बानी बसेको छ । मन नपरेका किताबहरु थुप्रै भएता पनि  यो नै मन परेन भनेर नभनौं ।

४) साहित्यिक किताब पाठकले किन पढ्नुपर्छ?

किताबले ब्यक्तिलाई बलियो बनाउछ । सेल्फ मोटिभेटको लागि पनि किताब पढनु जरुरी छ । कोर्समा मात्र सिमित रहनु भनेको झन् साघुँरो बाटो हिँड्न खोज्नु जस्तै हो । त्यसैले पनि साहित्यका किताबहरु पढ्न जरुरी देख्छु ।

५) भर्खरै “तपस्या” प्रकाशनमा आएको छ। लेखक प्रतिको पहिलो स्पर्शको अनुभुती कस्तो भयो?

आमाले नौ-नौ महिना गर्भमा राखेर जन्माएको सन्तानलाई काखमा लिदाको अनुभुती कस्तो होला ? ठ्याक्कै त्यस्तै अनुभव । जसलाई म व्यक्त गर्नुभन्दा धेरै महसुस गर्न सक्छु ।

६) “तपस्या” उपन्यासको जन्म कसरी हुन पुग्यो?

किताब निकाल्नुपर्छ भन्ने हुटहुटी, साथै त्यसैसँग जोडिएका घटना सबै मिसिदा तपस्याको जन्म भएको हो । नाम जत्तिकै तपस्या र मिहिनेत पनि यसमा लागेको छ, यसकै उपज पनि हो तपस्या ।

७) धेरै जसो युवा लेखकहरु प्रेम प्रसङ्गमै आधारित भएर कथा बुन्ने गर्छन्। कारण के होला?

आफ्नो अनुभव पनि साट्न पाइन्छ यो पहिलो कारण हुन सक्छ । हुन पनि हो आफू मिसिएर लेख्न पाउदाको मज्जा छुट्टै हुन्छ । सोचेर र सुनेर मात्रै लेख्न सकिदैन । लेखक घटना र परिवेशसँग जोडिन सक्नुपर्छ । युवा पुस्ता प्रेम नै खोज्ने कारण यिनै हुन सक्छन् ।

८) अहिलेको किताब बजारलाई कसरी नियाल्नु भएको छ?

किताब बजार साघुँरो नै देख्छु । कारण- डिजिटल मिडिया हावी भएको हो कि जस्तो पनि लाग्छ । २/३ घण्टा रेगुलर भिडियो हेर्न सक्ने पाठक आधा घण्टा धैर्य भएर किताबमा अडिन सक्दैन । र, अर्को कारण यो पनि देख्छु पाठकले रुचि अनुसारका किताब नपाउनु अथवा चर्चा चलेका किताब छनोट गर्दा उनीहरुको अपेक्षासँग वास्तविकता नमिल्नु ।

९) किताब प्रकाशन हुनु पहिले र  हालको दिनमा के कस्ता भिन्नता महसुस गर्नुभयो?

भिन्नता आफूमा पाएको छु । लगभग ४ वर्षको कोसिस पछि किताबलाई बजारमा पठाउन पाएको छु । प्रतिक्रिया कस्तो आउने हो ? शुरुमा धेरै डर पनि थियो । अहिले बिस्तारै घट्दै छ । प्रतिक्रिया राम्रो पाएको छु । चिनेका मात्र होइन नचिनेका पाठकसँग पनि जोडिन पाएको छु, प्रतिक्रिया थपिन्छन्, खुसी लाग्छ । अझै लेख्न सकिन्छ कि भन्ने जोस पनि आउँछ ।

१०)किताब प्रकाशन गर्न कत्तिको सास्ती भोग्नुभयो? नव लेखकहरुलाई केही सुझाव दिनुहुन्छ?

किताब लेख्न खोज्नु भन्दा गाह्राे काम किताब लेख्नु हो । त्यसैमा राम्रो किताब लेख्नु झन् गाह्राे । र किताब लेखिसकेपछी निकाल्न त झनै गाह्राे । म पनि नयाँ नै छु तैपनि म भन्दा नयाँ लेखकलाई म यत्ति भन्न चाहान्छु, छिट्टै किताब निकाल्ने हुटहुटिमा नहिँड्नुहोस् । समय लाग्छ नआत्तिनुहोस् । लेखकलाई आफुले लेखेका हरेक वाक्यहरु मन पर्छन् तर ती पाठकले मन पराउछन पराउदैनन् त्यो मुख्य कुरा रहन्छ । आफुले नै रिराइट गर्ने बानी बसाल्नुहोस् तब मात्र आफ्नो नजिकका ब्यक्तिलाई पढ्न दिनुहोस् सोहिअनुसार पुनः परिस्कृत गर्नुहोस् । समय धेरै लाग्छ कोसिस गरिरहनुहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार